वावु- आमासँग छोराले अंश मागेपछि उनीहरु बाध्य भएर दिन तत्पर हुन्छन । त्यसपछि जमिन छुट्टियो, मन छुट्टियो, भान्छा अलग भयो अनि मायाँ र स्नेह टाढा भयो । तिलदेखि तेलसम्म, सुनदेखि नुनसम्म बाँडियो तर केही समयदेखि परिवारै भाँडियो ।
बिस्तारै बाबुआमाको लागि आँगनै परदेश हुँदै जान्छ । घरले जा जा बनले आइज आइज भनेर बोलाउँदै जान्छ तर छोराछोरीप्रतिको बाबुआमाको मन भने झन गाढा भइ नै रहन्छ तर के गर्नु यो प्रकृत्तिको नियम भन्दा पनि मानिसमा भएको नियति नै हो ।
उता छोराछोरीहरु भने कोही पराई घर त कोही बिदेश । घरमा भएका चल- अचल सम्पति सवै बाँडिए तर आमाले नौ महिनासम्म गर्भमा राखेको पीडा बाँडिएन , न त बुबाले हर पल परिवारको लागि बगाएको पसिना बाँडियो ।
यसो सोचेर ल्याउँदा आज हामी जुन धरातलमा उभिएर आफ्नो जीवन ब्यतित गरिरहेका छौं, त्यसको सवै देन बाबू- आमाप्रति नै जान्छ । भनिन्छ नि : ” हिर्काए पनि बाबै जाति, पोले पनि घामै जाति, नरुछे पनि मामै जाति, कराए पनि आमै जाति ! ” अनि भनिन्छ : ” आमाको काख अरुको लाख !” आखिर जीवनमा हरेक पल हर घडी हामीलाई फुर्सदै हुँदैन । न अरुको ख्याल गर्छौं न त आफ्नै ! संधै पैसा पैसा भन्दै धनको पछि लाग्दा लाग्दै एकदिन जीवनको अन्त्य भएको थाहै हुंदैन ।
त्यसैले मानिसको जीवन लिएपछि आफू र आफ्नो परिवारप्रत्तिको दायित्व के हो त्यसको बोध हुनु जरुरी छ । अझ आफ्नो जन्म दिने वुवा- आमाप्रतिको हेरबिचार तथा हरेक कुरामा ख्याल राख्नु पर्ने दायित्वबाट कहिलै टाढा हुनुहुंदैन ।
त्यसैले पौराणिक कालमा राजा हरिश्चन्द्रले पनि आफ्ना सन्तानको पीडाले जीवनभर अर्कैको दास बनिरहे तर आफ्नो स्वाभिमान गुमाउन चाहेनन र पछि धर्म परिक्षण भन्ने कुरा थाह पाए । तसर्थ मातापिताको सेवामा समर्पित भाव राखौं ता कि तपाइँको रुखो वचनले देबघाटको यात्रा तय नहोस ! -खिमराज गिरी



