३१ जेठ , काठमाडौ । काठमाडौंको मेगाड्रिम सहकारीको करोडौं रकम अपचलन प्रकरणमा अदालतले तीन जनालाई पुर्पक्षको लागि थुनामा पठाएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले पक्राउ परेका चार जना मध्ये तीन जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो ।

उपाध्यक्ष बासुदेव भट्ट, सचिव इन्द्रप्रसाद गेलाल र संयोजक उमाकान्त न्यौपाने पुर्पक्षको लागि थुनामा पठाइएका हुन् । सहकारीका सदस्य रहेका शरदकुमार अधिकारीसँग भने ७ लाख धरौटी माग गरिएको छ ।

सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार यस सहकारीको बचतकर्ताको करोडौं रकम अपचलन गरेको मुद्दा जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो। यस सहकारीमा १० जनालाई प्रतिवादी बनाइएको छ । अध्यक्षसहित ६ जना अझै फरार नै छन् । उनीहरूविरूद्ध १६२ जना पीडितले जाहेरी दिएका छन् ।

उनीहरूले जम्‍मा गरेको २१ करोड ५६ लाख ९३ हजार ६६९ रुपैयाँ हिनामिना भएको अनुसन्धानबाट खुलेको थियो।