नाबालिग अपराधको दलदल -अभिभावकको किचलो, अशिक्षा र प्रविधि दुरुपयोग -
Comments Add Comment

Advertisment

SKIP THIS

नाबालिग अपराधको दलदल -अभिभावकको किचलो, अशिक्षा र प्रविधि दुरुपयोग

घटना-१
बैतडी दोगडाकेदार गाउँपालिका-७, चडेपानीकी भागरथी भट्टलाई हामीले बिर्सिएका छैनौं । तीन वर्ष अघि लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा उनको शव फेला परेको थियो ।

विद्यालयबाट घर हिँडेकी उनको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो । १७ वर्षीया भागरथीलाई एकै विद्यालयमा अध्ययन गर्ने आफ्नै जुनियर दिनेश भट्ट (१६) ले बलात्कारपछि गरेका थिए । दिनेश सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत थिए भने भागरथी यही विद्यालयको कक्षा १२ मा पढ्थिन् ।

पुरानो रिसीइबी र विद्यालयको हाफ टाइममा जिस्क्याएको बदला भावमा भागरथीको हत्या भएको प्रहरीले जनाएको थियो ।

घटना-२
केही दिनअघि काठमाडौं बत्तिसपुतलीस्थित कुमारी टोलमा मोरङका युवक शम्भु धिमालमाथि आक्रमण भयो । गम्भीर घाइते अवस्थाका उनलाई सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार निम्ति लगिएको थियो । तर, त्यहाँ चिकित्सकले उनलाई मृत घोषित गरे ।

हत्या अभियोगमा चार जना पक्राउ परे । अचम्म त के थियो भने पक्राउ परेका सबै १६ वर्षमुनिका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार दुई समूहबीच झगडा हुँदा एकजना किशोरले शम्भुमाथि चक्कु हानेका थिए ।

धिमाल र पक्राउ परेका किशोर एक-अर्कासँग ठोक्किएका थिए । त्यही निहुँलाई लिएर दुई पक्षबीच झै-झगडा हुँदा धिमालको हत्या नै भयो । सोही आक्रमणमा मृतक धिमालका साथी २३ वर्षीय मनीष चौधरी पनि घाइते भएका छन् ।

झगडामा संलग्न दुबै पक्ष एक-अर्कासँग अपरिचित थिए । आक्रमणमा संलग्नमध्ये तीनजना किशोरहरू जन्मदिनको पार्टी खाएर फर्किने क्रममा हिँडिरहेका थिए । जन्मदिनको पार्टी खाएर निस्किएका उनीहरूले बाटैमा थप मादकपदार्थ (छ्याङ) पिएको पनि खुलेको छ । छ्याङ खाने क्रममै तीन जनाको समूहमा १४ वर्षीय किशोर पनि थपिए ।

जन्मदिनको पार्टी र बाटोमा छ्याङसमेत पिएका चारजनाको समूह हिँड्ने क्रममा धिमाल र चौधरीसँग ठोक्किए । ठोक्किएपछि त्यहीँ भनाभन सुरु भयो । भनाभनले उग्र रुप लिँदा ४ मध्ये एकजनाले धिमाल र चौधरीमाथि छुरा प्रहार गरे ।

घटना-३
सर्लाही हरिपुर्वा नगरपालिका-१९ वर्षीय सुशील रायको हत्या अभियोगमा १९ वर्षीय कृष्ण भन्ने विश्वजीत यादव र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर पक्राउ परे ।

राय दुई हप्तादेखि बेपत्ता थिए । सोही ठाउँस्थित श्री राष्ट्रिय आधारभूत विद्यालय, धनकौलको कम्पाउण्डको पुरानो शौचालयको सेफ्टी ट्यांकीमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा रायको शव फेला परेको थियो ।

माथिका प्रतिनिधि घटनाले पछिल्लो समय जघन्य अपराधमा बालबालिका र किशोरकिशोरीहरूको संलग्न बढेको देखाउँछ ।

नेपाल प्रहरीले संकलन गरेको तथ्याङ्क विश्लेषण गर्दा नाबालिगहरू अपराधमा फस्दै गएको देखिन्छ । अपराध गरी कानूनी द्वन्द्वमा परेका नाबालिगहरूको संख्या दुई दर्जनभन्दा बढी छ ।

आर्थिक वर्ष २०७७/७८ मा ११ जना बालबालिका कानूनी द्वन्द्वमा परेका छन् । त्यस्तै, ०७८/७९ मा १८ जना, ०७९/८० मा ३३ जना परेका छन् । त्यसैगरी ०८०/८१ को जेठ ६ गतेसम्म २८ जना परेका छन् ।

नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक तथा प्रवक्ता दानबहादुर कार्की पारिवारिक विखण्डनमा परेका बालबालिकाहरू कानूनको द्वन्द्वमा फसेको बताउँछन् । उनी भन्छन्, ‘परिवारबाट राम्रो हेरचाह नपाएकाहरू यस्त घटनामा संलग्न छन् ।’

‘अभिभावकको सम्बन्ध बिग्रिएपछि वा परिवारको उचित संरक्षणमा हुर्किन नपाएका बालबालिकाहरू नराम्रो संगतमा परेका छन्,’ खबरहबसँग उनले भने, ‘पारिवारिक विखण्डन, गरिबी र अशिक्षाका कारण धेरै बालबालिका त सडकमै पुगेका छन् ।’ कुलतमा पर्ने र चोरीमा संलग्न हुँदाहुँदै कानूनको द्वन्द्वमा बालबालिका पुगेको कार्कीले बताए ।

बालबालिकाले बयानमा आवेग र रिस थाम्न नसकेको उनी बताउँछन् । कार्की थप्छन्, ‘त्यसले मेरो यस्तो बिगार्‍यो र जिस्क्यायो जस्ता सामान्य कुरामा पनि अत्यधिक रिस उठेको बयान दिन्छन् ।’

कार्कीका अनुसार; घटनापछि उनीहरू निकै डराउने र पछुतो मान्ने गर्छन्‌ । तर ढिला भइसकेको हुन्छ । ‘डरकै कारण मानसिक रूपमा बिरामी नै हुन्छन्,’ कार्कीले थपे, ‘सुधारगृह लैजानुअघि उनीहरूलाई अस्पताल पुर्‍याउनुपर्छ ।’

बालबालिका कानूनको द्वन्द्वमा कसरी फसेका छन् भनेर राज्यले बृहत्तर रूपमा अध्ययन गर्नुपर्ने उनी बताउँछन् । भन्छन्, ‘बालबालिकाहरू कुनै निर्णय गर्नेबारे परिपक्क हुँदैनन् र उनीहरू अनियन्त्रित हुन्छन् ।’

नाबालिगलाई अपराधबाट जोगाउन वृहत्तर रूपमा उनीहरूको सामाजिक प्रतिवेदन जस्तै – पारिवारिक, आर्थिक, शैक्षिक र सांस्कृतिक लगायत अवस्था के–कस्तो छ भनी बुझ्न आवश्यक हुन्छ,’ प्रवक्ता कार्कीले भने, ‘बालबालिकाको मनोविज्ञान बुझेकाले विशेष संयन्त्र बनाएर अध्ययन प्रतिवेदन बनाउनुपर्छ ।’

प्रविधि पहुँच अर्को कारक
बालमनोविद् सनम पौडेल पछिल्लो समय हिन्दी तथा अंग्रेजी बेवसिरिज अत्यधिक हेर्ने बालबालिकाले अपराध कसरी गर्ने भन्ने सिकिरहेको बताउँछिन् ।

उनका अनुसार त्यस्ता सिरिजमा लडाईं गर्नेलाई ‘सुपर हिरो’को रूपमा प्रस्तुत गरिने हुँदा बालमतिष्कमा हिरोपन्थीको इच्छा जगाउँछ र अन्ततः हिंसा तथा अपराधतिर धकेल्छ ।

‘सामाजिक सञ्जालबाट पनि अनेक अपराधहरू सिकिरहेका छन् । वेभसिरिजमा अपराध गरेको देखाइन्छ तर उसले सजाय पाएको देखाइँदैन’, पौडेल भन्छिन्‌ ।

‘हार्मोन परिवर्तनले पनि किशोरकिशोरीको स्वभावमा परिवर्तन ल्याउँछ । स–सानो कुरामा झसङ्ग रिस उठ्छ र अर्को अरूभन्दा फरक देखिन मन लाग्छ,’ पौडेल थप्छिन्, ‘अरूभन्दा फरक हुन्छु, सबैले मलाई नोटिस गरुन्‌ भन्ने मनोविज्ञान हुन्छ ।’

यो उमेरमा अभिभावकले नै आफ्ना बाबूनानीमाथि अरूले भन्दा धेरै निगरानी गर्नुपर्ने उनी बताउँछिन्‌ । ‘घर नै पहिलो पाठशाला हो, साथीसंगत गलत छ कि छैन; ख्याल गर्नुपर्छ । यस्ता क्रियाकलापमा विद्यालयले मात्रै अनुशासनमा राखेर पुग्दैन ।’

अर्को – अभिभावकले पढाईबारे बच्चालाई उसको साथीसँग तुलना गर्ने काम गर्न बन्द गर्नुपर्छ । अपराधमा संलग्न किशोरकिशोरीमा पढाईमा दिइएको दबाबकै कारण पनि मानसिक समस्या पाइएको पौडेल अनुभव सुनाउँछिन् ।

‘१०/११ वर्षकै उमेरकै बालबालिकामा मानसिक समस्या देखिएको छ । घटनापछि त्यो बेला के भयो भन्ने नै थाहा नपाएको बयान दिन्छन्, बालबालिका यस्तो अवस्थासम्म पुग्नुमा पारिवारिक बेमेल र दबाब नै मुख्य कारण हो,’ पौडेल दाबी गर्छिन्‌ ।

उनले थपिन्‌, ‘नाबालिगहरू सुरक्षित रहन परिवारको वातावरण तथा बुवाआमाको सम्बन्ध पनि सुमधुर पनि हुनुपर्छ । सानोमा उसले के देख्यो र के भोग्यो भन्ने कुराले व्यक्तित्व निर्धारण गर्छ ।’

विद्यालयमै मानसिक स्वास्थ्यबारेमा पढाई हुनुपर्नेमा पौडेल जोड दिन्छिन्‌ । नैतिक शिक्षालाई अनिवार्य गर्नुपर्ने अवस्था आएको उनी बताउँछिन्‌ ।

के छ कानूनी व्यवस्था ?
मुलुकी अपराध (संहिता) ऐन २०७४ मा बालबालिकालाई हुने सजायबारे यस्तो व्यवस्था छ ।
– कानून बमोजिम कसुर ठहर भएपनि १० वर्ष कमलाई कुनै सजाय हुने छैन ।
– १० वर्ष वा १० वर्षभन्दा माथि र १४ वर्षभन्दा कम उमेर भएको व्यक्तिलाई कैदको सजाय गर्दा बढीमा ६ महिनासम्म कैदको सजाय गर्न वा कैद नगरी बढीमा एक वर्षसम्म सुधार गृहमा राख्न सकिनेछ ।
– १४ वर्ष वा १४ वर्षभन्दा माथि र १६ वर्षभन्दा कम उमेरको व्यक्तिले कैदको सजाय हुने कुनै कसुर गरेमा निजलाई उमेर पुगेको व्यक्तिलाई कानून बमोजिम हुने सजायको आधा सजाय हुनेछ ।
– १६ वर्ष वा १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम उमेरको व्यक्तिले कैदको सजाय हुने कुनै कसुर गरेमा निजलाई उमेर पुगेको व्यक्तिलाई कानून बमोजिम हुने सजायको दुई तिहाई सजाय हुनेछ ।
कसुर ठहर भए पनि बालबालिकाहरूलाई सामान्य कारागारमा नपठाइकन बाल सुधार गृहहरूमा पठाउनुपर्ने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment