१४ मंसिर , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी स्थापनाको छोटो अवधिमा देखिएको समस्या र संकीर्णताप्रति चिन्ता व्यक्त गर्दै योग्य व्यक्तिलाई पार्टीभित्र आउन नदिन कोसिस भइरहेको निष्कर्ष निकालेका छन् ।
रास्वपाको जलेश्वरमा सम्पन्न बैठकले पारित गरेको सभापति लामिछानेको राजनीतिक प्रतिवेदनमा पार्टीभित्रैका साथीहरूबाट राम्रा मान्छेलाई रास्वपामा आउन नदिने कोसिस भएकोतर्फ सबै चनाखो बन्नुपर्ने उल्लेख छ ।
नयाँ र योग्य व्यक्तिहरू पार्टीभित्र आउँदा आफूले टिकट नपाउने र आफू पछि पर्ने जस्ता लघुताभासी चरित्र पार्टीभित्र देखिएको लामिछानेको निष्कर्ष छ । उनले यसलाई ‘प्राइमरी’को दुरुपयोग भनेका छन् ।
(१) लिडरसीप एकेडेमी
(२) उम्मेदवार क्लब
लामिछानेले विभिन्न पार्टीमा अवसर नपाएर रास्वपामा आउनेहरूको प्रवृत्तिगत विश्लेषण समेत प्रतिवेदनमा गरेका छन् । अधिकांश व्यक्तिहरू इमानदार र निष्ठावान् भए पनि केही आफ्नो पूर्व पार्टीकै गलत प्रवृत्ति बोकेर आएको लामिछानेले उल्लेख गरेका छन् ।
प्रतिवेदनमा भनिएको छ- पुराना राजनीतिक दल छोडेर हामीसँग सम्बन्ध गाँस्न आउने साथीहरूमध्ये अधिकांश असल, इमान्दार र निष्ठावान् छन् । तर, केही पूर्वपार्टीकै गलत प्रवृत्ति बोकेर आएको देखिन्छ । फरक राजनीतिक संस्कार र संस्कृतिको पक्षपाती हामीलाई तीमध्ये खराबहरूले क्रमशः दबाब र प्रभावमा पनि पार्न सक्ने देखिन्छ । अर्कोतर्फ, अन्यत्र उचित स्थान नपाएर, स्वार्थ पूरा हुने नदेखेर र नयाँ दलमा तत्काल सम्भावनाको अवसर पाइन्छ भन्ने लोभले आएकाहरूले हामीलाई बदनाम गराउने सम्भावना पनि बढी नै हुन्छ । यसतर्फ पनि हामी बेलैमा सचेत हुनुपर्छ । यसो भनिरहँदा, जुनसुकै पार्टीबाट आएका असल साथीहरूको निष्ठामा ठेश नलागोस्, मानमर्दन नहोस् भन्ने कुरामा म सचेत छु । हामी ‘संगठित पार्टी र योग्य सदस्य’को अवधारणामै अगाडि बढ्नु पर्छ ।
सभापति लामिछानेले पेश गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित भएको छ । सो प्रतिवेदनमा चितवनले गत निर्वाचनमार्फत नेपालमा निलो क्रान्ति गरेको उल्लेख छ ।




