२४ साउन ,काठमाडौ । जिल्ला कारागार संखुवासभामा दुई कैदीबन्दीको मृत्यु भएको घटनालाई लिएर प्रहरीले ९ जना कैदीलाई नियन्त्रणमा लिएको छ । बुधबार उनीहरुलाई नियन्त्रणमा लिएर छुट्टै ठाउँमा राखिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिएका हुन् ।
कैदीबन्दीहरू संखुवासभा मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो । बुधबार बिहान कारागारभित्र अचेत अवस्थामा फेला परेका उनीहरूको उपचारका क्रममा मृत्यु भएको थियो ।
उक्त घटनापछि कैदीबन्दीहरूले नै आरोप लगाएका ९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अन्य कैदीबन्दीहरूले आरोप लगाएका ९ जनालाई नियन्त्रणमा लिएर छुट्टै स्थानमा राखेको बताएँदै कार्कीले भने, ‘भित्र सुरक्षाको चुनौती हुनसक्ने भएकाले छुट्टै स्थानमा राखेका छौं । उनीहरूको संलग्नता के–कति थियो भन्ने छानबिनपछि मात्रै थाहा हुन्छ ।’
उनका अनुसार दुईजना कैदी बुधबार बिहान २ बजेतिर जेलबाट भाग्ने प्रयास गरेका थिए । उनीहरूले शौचालयको झालको रड काटेर भाग्न लागेका थिए । उनीहरुले भाग्ने प्रयास गरेको थाहा पाएपछि प्रहरीले नियन्त्रणमा लिएर पुनः कारागारभित्र राखेको थियो । बिहान उनीहरू दुबै जना अचेत अवस्था भटिएका थिए ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारका अनुसार कैदीहरूले उनीहरूमाथि लात्ती र मुक्काले हिर्काएको देखिएको छ । सेलभित्र सिसिटिभी नभएकाले क–कसको संलग्नता छ भन्ने छानबिनपछि खुल्ने उनको भनाइ छ ।
उक्त घटनामा जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरे नेतृत्वको छानबिन समिति बनाएको छ । मृतक तोलाङी जबरजस्ती करणी मुद्दामा १८ वर्ष र बलामी चोरी मुद्दामा ३ वर्षको कैद भुक्तानी गरिरहेका थिए । उनीहरू एक वर्षदेखि जिल्ला कारागारमा सजाय काटिरहेका थिए । हाल जिल्ला कारागारमा १३८ कैदीबन्दी छन् ।







