२३ माघ, काठमाडौ । प्रहरीले पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा पाँच मालेपाटन बस्ने विष्णुप्रसाद भण्डारी सोमबार साँझ पक्राउ परेका हुन् । उनलाई आज अदालतमा पेस गरेर अनुसन्धान अगाडि बढाउने तयारी छ ।
भण्डारी पृथ्वीनारायण (पीएन) क्याम्पसका सहप्राध्यापकसमेत हुन् । उनी पनि सहकारीका पदाधिकारीसँगको मिलेमतोमा बचतकर्ताको रकम दुरुपयोग गरेको अनुसन्धानमा देखिएको बताइएको छ ।
पोखरा महानगर–९, नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्य मिलेर करिब २७ करोड रकम हिनामिना पारेको आरोप छ ।
मित्रमिलन सहकारी ठगी प्रकरणमा प्रदेश सहकारी रजिष्टार कार्यालयका पूर्वरजिष्टार तथा कुश्मा नगरपालिका पर्वतका प्रमुख प्रशासकीय अधिकृत उदयराज पराजुलीसहित संस्थाका अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।
३२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा हालसम्म २५ जना फरार सूचीमै रहेका छन्। उनीहरुको प्रहरीले खोजी गरिरहेको छ ।



