Comments Add Comment

Advertisment

SKIP THIS

हवाई सुरक्षाको समस्या समाधानका लागि सुमना श्रेष्ठको सुझाव

१) प्रथमतः हवाई उडानमा मौसम पूर्वानुमानले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्छ।

(क) यसकारण ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागमा रहेको “हवाई उड्डयन मौसम शाखा”मा भएको जनशक्ति अभावको समस्यालाई यथाशीघ्र समाधान गर्नुपर्छ। २४ घण्टा ३६५ दिन नै सेवाप्रदान गर्ने यो शाखामा अहिले २ सिफ्टमा १३ जना कर्मचारी खटिएका छन्। जल तथा मौसम विज्ञान विभागमा वि.सं. २०४४ को कुल दरबन्दी ३२६ थियो जुन वि.स. २०७५ सम्म आइपुग्दा २५१ मा हुन गयो।

२०४४ को हवाई चापको अनुपातमा २०८१ को हवाई चाप कति बढेको छ भन्ने अनुमान सजिलै लगाउन सकिन्छ। यसकारण ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समन्वयमा आवश्यक परेमा यहाँकै श्रोत लगाएर भए पनि जनशक्ति थप गर्नुहोला। र जनशक्तिलाई आवश्यक गुणस्तरीय तालिम समेत प्रदान गर्नुहोला।

(ख) नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (ICAO) को सदस्य भएकाले नेपालले ICAO अनुसूची ३ को न्यूनतम मौसम पूर्वानुमान सम्बन्धीका मापदण्ड समेत पूरा गर्नुपर्ने हुन्छ। यसका साथै नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) को Civil Aviation Requirement 3 (CAR3) का मापदण्ड पनि पूरा गर्नुपर्छ।

तर ICAOले गर्ने आवधिक Universal Safety Oversight Audit Programme (USOAP) मा त्रिभुवन विमानस्थलमा देहायका Met deficiencies देखाएको थियो: संरचना/जनशक्ति अपुग, Competency and Training उपयुक्त नभएको, Quality Management System (QMS) and Unit नभएको र Aerodrome wind shear पर्याप्त नभएको। यसकारण शीघ्र नै फ्लाइट सिफ्ट अनुसार साङ्गठनिक संरचनाको अभाव पूर्तिका लागि कार्यविधि बनाउनुपर्नेछ। नेपालको हवाई सुरक्षाका लागि यी समस्याहरू पनि प्राथमिकताका साथ समाधान गर्नुहोला।

(ग) थप समस्या बुझ्न र समाधानका लागि CAANको ए. एन. एस. सेप्टी एन्ड स्ट्याण्डर्ड विभागले २०७८ मा गरिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा (Meteorological Forecasting Division), त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रि.अ.वि) को Safety Oversight Audit को प्रतिवेदनमा उल्लेख गरिएको छ। ११ बुँदामा Civil Aviation Requirement and ICAO Standards and Recommended Practice को पालना नभएको (Non-compliance) पनि अडिट रिपोर्टले देखाएको छ।

मौसमविद्हरूको (meteorologists) लागि दक्षता जाँच गर्ने प्रक्रिया स्थापना, मौसम स्टेसनहरूको नियमित अन्तरालमा निरीक्षण गर्ने प्रक्रिया स्थापना, म्याद समाप्त भएका calibrated उपकरणको क्यालिब्रेसन प्रक्रिया विकास, Meteorological watch officeले वाणी/आवाज सञ्चारद्वारा हवाई यातायात सेवा इकाईहरूबाट विशेष हवाई सूचना प्राप्त गर्ने प्रक्रिया विकास, wind shear उडान सुरक्षा लागि महत्त्वपूर्ण हुने ठाउँमा aerodromeका लागि wind shear चेतावनीहरू जारी गर्ने जस्ता विभिन्न महत्त्वपूर्ण कार्यहरू गर्नु पर्ने बताएको छ। यी सबै सुझावलाई कार्यान्वयन गर्नुहोला। यो प्रतिवेदन यसै पत्रसाथ संलग्न गरेकी छु।

२) दोस्रो भनेको वर्षौँ देखि सदनमा, विभिन्न पत्रपत्रिकामा र जनमानसमा उठ्दै आएको माग हो: CAAN लाई छुट्ट्याउने। CAAN नियामक र सेवा प्रदायक दुवैको जिम्मेवारी लिँदै आएको छ। यसरी दूधको साक्षी बिरालो राखेर हवाई सुरक्षालाई सुनिश्चित गर्न सकिँदैन। यसकारण तत्कालै CAAN लाई छुट्ट्याइनु पर्छ।

यसैका लागि दुई विधेयक – नागरिक उड्डयन प्राधिकरण विधेयक र एयरपोर्ट सेवा प्राधिकरण विधेयक का मस्यौदा कानुन मन्त्रालय र अर्थ मन्त्रालयबाट पारित भएर अझै प्रधानमन्त्रीको कार्यालयमा थन्किएको र अघि नबढेको अवस्थाबारे पत्रपत्रिकामा आएको छ। European Commission र European Union Aviation Safety Agency ले सन् २०२३ मा गरेको स्थलगत निरीक्षणले पनि CAAN लाई छुट्ट्याउनु पर्ने कुरामा जोड दिएको छ। यी मस्यौदालाई छिट्टै नै आवश्यक संशोधन गरी सदनमा छिट्टै नै विधेयक दर्ता गराउनु होला।

४) ICAO ले हेर्ने उडान सुरक्षाका कुल ८ वटा विषयमध्ये नेपालको सबैभन्दा कमजोर पक्ष विमान दुर्घटना र घटना अनुसन्धानमा देखा परेको छ। विमान दुर्घटना भए पश्चात् सरकारले तुरुन्तै प्रतिवेदन दिनुपर्ने, आयोग गठन गर्ने, सो आयोगले प्रतिवेदन बुझाउने तर आयोगले दिएको सुझाव–सिफारिस कार्यान्वयनमा रुचि नदेखाउने प्रवृत्तिले गर्दा ICAOले समेत पटके आयोग होइन, दुर्घटना जाँचमा स्थायी संयन्त्र हुनुपर्नेमा जोड दिएको छ । यो सुझावलाई अनुसरण गरी दुर्घटना जाँचका लागि स्वतन्त्र, निष्पक्ष र स्वार्थ नबाझिने एउटा स्थायी संयन्त्रको विकास गर्नुहोला।

५) सन् २०१३ देखि युरोपेली युनियनले नेपालका हवाई कम्पनीहरूलाई कालोसूचीमा राखेको छ। २०२३मा EUको Official Journal of the European Union मा “COMMISSION IMPLEMENTING REGULATION (EU) 2023/2691 of 29 November 2023”मा प्रकाशित प्रतिवेदन अनुसार नेपालका वायुसेवाले CAAN र ICAO दुवैका न्यूनतम मापदण्ड समेत पूरा गरेका छैनन्। नेपाल एयरलाइन्स र श्री एयरलाइन्सको सुरक्षा व्यवस्थापन प्रणाली धेरै सुधार गर्नुपर्ने बताइएको छ।

यावत् कानुनको कार्यान्वयन र यी कानुनको कार्यान्वयन भए/नभएको अनुगमन र निरीक्षणको योजना बारे जनतालाई जानकारी दिनुहोला। मापदण्ड नपुगेकालाई कारबाही गरी मापदण्ड पुऱ्याउन केही समय दिएर पुनः निरीक्षण गर्नुहोला। स्मरण रहोस् आफूलाई दिइएको काम नगर्नु पनि भ्रष्टाचार हो, जनताको करको पैसाले तलब लिएर पनि काम नगर्ने व्यक्तिलाई निर्मम भएर दण्डित गर्नुहोला। यसका साथै कानुनले निर्दिष्ट गरेको अख्तियारी तथा क्षेत्राधिकारभित्र रहेर जिम्मेवारी पूरा नगर्ने तथा दोषीलाई कारबाही नगर्ने सम्बन्धित अधिकारीमाथि पनि कारबाही गर्नुहोला। कर्मचारीतन्त्र तथा जिम्मेवार पदाधिकारीहरूको नियुक्तिदेखि गल्ती गर्नेलाई समेत बचाउन उद्यत हुने राजनीतिक नेतृत्वमा रहेकालाई समेत कारबाही गर्ने आँट गर्नुहोला।

यसकारण यहाँ अब थप समस्या र समाधानको अध्ययन भन्दा समाधान अध्ययनलाई कार्यान्वयन गर्ने तालिका र योजना निर्माणमा व्यतीत हुनुपर्छ। अन्तर्राष्ट्रिय निकाय र यहीँ बनेका विभिन्न दुर्घटनाका प्रतिवेदनले समस्या र समाधान प्रस्ट्याइ सकेका छन्। थप ऊर्जा र समय अब पनि अध्ययनमा मात्रै बिताउने हो भने अझै कतिले ज्यान गुमाउनु पर्नेछ, आफै कल्पना गर्नुहोला। उपलब्ध प्रतिवेदनका सिकाइलाई तुरुन्तै कार्यान्वयनमा लाग्नुहोला भन्ने सुझाव समेत दिन चाहन्छु।

म हवाई सुरक्षाको समस्या समाधानका लागि यहाँको प्रतिबद्धताको माग गर्दछु। CAAN संरचनात्मक सुधार, जल तथा मौसम विभागको Met deficiencies लाई हटाउनका लागि आर्थिक सहयोग र उपलब्ध प्रतिवेदनका सुझाव सार्वजनिक र कार्यान्वयनको माग गर्दछु। तर यसका लागि सबैभन्दा महत्त्वपूर्ण भनेको सदनका दुई ठुला दल मिलेर बनेको दुईतिहाइ विश्वास प्राप्त शक्तिशाली सरकारका सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीज्यू र माननीय मन्त्री बद्रीप्रसाद पाण्डेज्यूको दृढ प्रतिबद्धता र इमानदार प्रयत्न चाहिन्छ। आशा छ अब भने जनतालाई निराश बनाउनु हुनेछैन।

धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै