काठमाडौँ – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेसँगै देशभरि उग्र विरोध भड्किएको छ। उक्त निर्णयविरुद्ध जेनेरेट समूहका प्रदर्शनकारीहरू सडकमा उत्रिएपछि विभिन्न स्थानमा सुरक्षाकर्मी र आन्दोलनकारीबीच तीव्र झडप भएको थियो।
सरकारको आदेशअनुसार प्रहरीले बल प्रयोगसहित गोली चलाउँदा भदौ २३ गते २१ जना प्रदर्शनकारीको मृत्यु भएपछि राजधानीसहित प्रमुख सहरहरूमा थप आक्रोश फैलिएको छ।
राजनीतिक अस्थिरता र सामाजिक तनाव चुलिँदै गएका बेला काठमाडौं उपत्यकाको तारकेश्वर नगरपालिका कार्यालयमा समेत तोडफोड र आगजनी भयो।
उपलब्ध भिडियो फुटेजअनुसार “नगर प्रहरीहरूको अपरिपक्व र जबरजस्तीपूर्ण भूमिकाले स्थिति नियन्त्रणमा आउनुको सट्टा अझ जटिल बनाएको देखिन्छ।” स्रोतका अनुसार, नगर प्रमुखको ठोस नेतृत्व र व्यवस्थापकीय भूमिकाको अभावले क्षति नियन्त्रण गर्न नसकिएको भन्दै स्थानीयवासीको आरोप तथा आक्रोशित छन्।
एक प्रत्यक्षदर्शीका अनुसार, “सुरुवातमै नगर प्रहरीहरूले प्रदर्शनकारी बिरुद्ध ‘फायर एक्स्टिङ्ग्विशर’ प्रयोग नगरेको भए कार्यलयमा तोडफोड र आगजनी सम्भवत हुने थिएन। ।” त्यस्तै, अर्को प्रत्यक्षदर्शीले भने, “नगर प्रमुखले समयमै हात बाँधेर बस्ने होइन, प्रदर्शनकारीलाई सम्बोधन गरेर विश्वास जितेको भए कार्यालय जोगिन सक्थ्यो।”
आगलागीका कारण करिब ५ प्रतिशत सरकारी कागजात नष्ट भएका छन् भने नगर प्रशासनको प्राविधिक गतिविधि सञ्चालन गर्ने अपरेसन रूम पूर्णरूपमा ध्वस्त भएको छ। यसले आगामी दिनमा सूचना व्यवस्थापन र प्रशासनिक सेवामा गम्भीर अवरोध ल्याउने विज्ञहरूको चेतावनी छ।
यो घटनाले मुलुकमा लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रताको सवाललाई पुनः बहसको केन्द्रमा ल्याएको छ।
नयाँ सरकार र जेन-जी आन्दोलनबीचको शक्ति सन्तुलनले देशको राजनीतिक भविष्य कता मोडिन्छ भन्ने विषयले व्यापक चासो पाएको छ।

तार्केश्वर नगरपालिकामा आगजनी र तोडफोड हुनुभन्दा अगाडिको सामाजिक सञ्जालमा देखिएको भिडियो फुटेज फरकपत्रबाट जस्ताको त्यस्तै :-
https://www.facebook.com/share/v/15xjRXYdMt/