२६ आषाढ ,काठमाडौ । सन् १९९१ मा अर्जेन्टिनाको रोसारियोस्थित धुले मैदानमा एक बालक फुटबल म्याच खेल्न उपस्थित भएनन् । के थाहा, यही घटनाले विश्व फुटबलको इतिहास बदल्नेवाला थियो ।

स्थानीय क्लब ग्रान्डोलीका प्रशिक्षक साल्भाडोर अपारिसियोले उनको सट्टा खेलाउन मिल्ने कोही खेलाडी खोले । ‘मैले भित्तामा बल हानिरहेको एउटा सानो बच्चा देखेँ,’ ६३ वर्षका अपारिसियोले २००८ मा द इन्डिपेन्डेन्टसँग भनेका थिए ।

तर चार वर्षका यी बच्चा निकै सानो थिए । उनकी आमा छोरालाई खेलाउन चाहन्न थिइन् ।

हजुरआमाले हस्तक्षेप गरिन् । उनले फुटबलले केही हानि नगर्ने भन्दै नातिलाई खेल्न दिन भनिन् । अन्त्यमा आमा पनि मानिन् । आमालाई खुसी बनाउन प्रशिक्षकले भने, ‘म उसलाई राइट विङमा राख्छु, स्ट्यान्ड नजिक अर्थात् तिमी नजिक । यदि उसलाई दुख्यो भने ऊ कराउनेछ र तिमी नजिक हुनेछौ ।’

यो त्यही धुले मैदान थियो, जहाँ मेस्सीले ३० वर्षअघि खेलेका थिए ।

मेस्सीले यसलाई अलि फरक रूपले सम्झन्छन् । ‘मभन्दा एक वर्ष ठूलो टिम थियो । उनीहरू खेल्दै गर्दा खेलाडी चाहिएको थियो,’ मेस्सीले यस खेलबारे भनेका छन्, ‘मेरी हजुरआमाले नातिलाई टिममा राख्नु भनिन् । प्रशिक्षकले यति सानो बच्चालाई कसरी राख्ने रु कस्तो पागल कुरा गरेको, ऊ घाइते हुन्छ भने । तर हजुरआमाले जिद्दी गरिन् ।’

मेस्सीले भनेका छन्, ‘त्यसपछि अन्ततः प्रशिक्षकले खेलाए । मेरी हजुरआमाले फेरि प्रशिक्षकलाई भनिन्– उसलाई बुट किनिदेऊ । म अर्को सातादेखि अभ्यासमा ल्याउनेछु र यसरी मेरो खेल यात्रा सुरु भयो ।’

आज विश्वभर मेस्सीका करोडौँ समर्थक छन् तर हजुरआमा उनकी पहिलो समर्थक थिइन् । जब उनले गोल गर्छन्, उनी आकाशतर्फ इसारा गर्छन् । १९९८ मा स्वर्गीय भएकी हजुरआमाको सम्मानमा उनले यस्तो गरेका हुन् ।

हजुरआमाले कहिल्यै मेस्सी महान् बनेको देखिनन्, तर उनको सपनालाई देखेकी थिइन् । अर्जेन्टिनामा हुर्कने ९० को दशकका अधिकांश बच्चाजस्तै मेस्सीको सपना पनि म्याराडोनाको फलो गरेर देशलाई उपाधि जिताउने थियो ।

७ अक्टुबर १९९३ मा युरोपबाट फर्किएर म्याराडोनाले निवेल्स वर्ल्ड ब्वाइजमा डेब्यु गरेका थिए ।