२९ जेठ , काठमाडौं । रुसको लगातार जारी गोलीबारीका कारण युक्रेनको सेवेरोदोनेत्स्क शहरमा एक केमिकल प्लान्टमा भीषण आगलागी भएको छ । यहाँको स्थानीय प्रमुखले यस्तो दाबी गरेका हुन् ।
सेरही हाइदाईले युक्रेनी टिभीलाई शनिबार दिएको जानकारी अनुसार अजट प्लान्टमा सयौँ टन तेल श्राव भएका कारण भीषण आगलागी भएको छ ।
यो प्लान्टमा सयौँ नागरिक फसेको आशंका छ । यी सबै यो प्लान्टमा हमलाबाट बच्नका लागि लुकेका थिए ।
पूर्व युक्रेनमाथि कब्जा गर्ने उद्देश्यका लागि सेवेरोदोनेत्स्क शहर रुसका लागि महत्वपूर्ण कडी बनेको छ ।
रुस र युक्रेनबीच विगत तीन महिनाभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । युक्रेनको राजधानी तथा अन्य शहरमा कब्जा गर्न विफल भएपछि रुसले अब पूर्वमा स्थित लुहान्स्क र दोनेत्स्कलाई निशाना बनाउन सुरु गरेको छ ।
एक बयानमा सेरही हाइदाईले सेवरोदोनेत्स्कको अधिकांश हिस्सा अब रुसको हातमा गएको स्वीकार गरेका छन् । यस्तै रुसको सेनाका अनुसार शहरको सबै आवासीय इलाका अब उसको नियन्त्रणमा छ ।
शनिबार हाइदाइले भने, ‘अजट केमिकल प्लान्टमा घन्टौँदेखि रुसको गोलीबारी जारी रह्यो ।’ यद्यपि, उनले हमलाका कारण के कति क्षती भएको छ भन्ने कुनै जानकारी दिएनन् ।
युक्रेनी अधिकारीको अनुमान अनुसार कम्तीमा ८ सय सर्वसाधारण यो प्लान्टमा लुकेका छन् । सेवेरोदोनेत्स्कमा नियन्त्रणले रुस आफ्नो लक्ष्य नजिक पुग्नेछ र यसमार्फत् लुहान्स्कमाथि उसको कब्जा हुनेछ ।






