काठमाडौं । टोखा नगरपालिका वडा नम्बर–३ स्थित भत्केको पुल नजिक सञ्चालन हुँदै आएको अवैध घरेलु रक्सी उत्पादनस्थलमा नयाँ बसपार्क प्रहरी प्रभागको टोलीले छापा मारेको छ।
नेपाल प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा गरिएको छापाका क्रममा ठूलो परिमाणमा अवैध सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार करिब १० हजार लिटर अवैध घरेलु रक्सी, ९ हजार किलोग्राम गहुँ र कोदोको कच्चा पदार्थ तथा रक्सी पकाउने ३ सेट भाँडाकुँडा बरामद गरिएको हो।
बसपार्क प्रहरी प्रभागका अनुसार यो कारबाही हालसम्मकै सबैभन्दा ठूलो परिमाणको बरामद मानिएको छ। अवैध गतिविधि नियन्त्रणमा लिएको भन्दै स्थानीयवासीहरूले प्रहरीको सक्रियताप्रति धन्यवाद व्यक्त गरेका छन्।
बरामद गरिएका सामग्री तथा गैरकानुनी रूपमा रक्सी उत्पादनमा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको बसपार्क प्रहरी प्रभागले न्युज24ग्यालेक्सीलाई जानकारी दिएको छ।














