३० जेठ , काठमाडौ । प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै युट्युबले पाकिस्तानी गायक चाहत फतेह अली खानको गीत ‘बडो बडी’लाई प्लाटफर्मबाट हटाएको छ ।
यो गीत पछिल्लो समय भाइरल बनिरहेको थियो । हटाइनुपूर्व यो गीतलाई २ करोड ८० लाख पटक हेरिएको थियो । सार्वजनिक भएको दुई महिनामै यो गीत सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो । भिन्न शैलीको यो गीतलाई लिएर धेरैले आ–आफ्नो प्रतिक्रिया दिइरहेका थिए ।
कतिले यसलाई मनोरञ्जनको साधनको रुपमा लिए भने कतिपयले बेतुकको गीत भन्दै आलोचना पनि गरिरहेका थिए । यो गीतलाई पाकिस्तानी गायिका मलिका तारामन नूरजेहनको ‘अख लडी बडो बडी’बाट लय र शब्दसँग मिल्दोजुल्दो ढंगले उतारिएको आरोप छ ।
पाकिस्तानी सञ्चारमाध्यमले यो गीत सन् १९७३ मा सार्वजनिक भएको फिल्म ‘बनारसी ठग’ समावेश गरिएको उल्लेख गरेका छन् ।
‘बडो बडी’ गीतमा मोडल वजधन रावलाई फिचर गरिएको छ, जसले हालै चाहत फतेह अली खानविरुद्ध गम्भीर आरोप लगाएकी थिइन् ।