
१३ मंसिर ,काठमाडौ । गण्डकी प्रदेश सरकारले बेनी अस्पतालमा कार्यरत ३० जना स्वास्थ्यकर्मीको करार म्याद थप नगर्दा सेवा प्रभावित भएको छ ।

त्यसैगरी त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयबाट उत्तिर्ण मेडिकल अफिसर मध्येबाट वर्षेनी ८ जना डाक्टर कम्तीमा एक वर्षकालागी इन्टर्नसीपमा पठाउने गरेको थियो ।

यो वर्ष गण्डकी प्रदेश सरकारले ति डाक्टरलाई प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएपछि बेनी अस्पतालमा डाक्टरको अभाव भएको हो । कोरोना कोषको बजेटबाट दुई वर्षदेखी करारमा कार्यरत १६ स्टाफ नर्स, ४ हेल्थअसिस्टेन्ट, २ फार्मेसी, २ ल्याव टेक्निसियन, एक रेडियोग्राफर र ५ कार्यालय सहयोगी गरी ३० स्वास्थ्यकर्मीको करार अवधी गत कात्तिक २४ मा सकिएको हो ।
एकसाथ धेरै स्वास्थ्यकर्मी बाहिरिएको र नयाँ डाक्टर पनि नआएपछि अस्पतालको ओपीडी, इन्डोर, इमर्जेन्सी समेतका स्वास्थ्य सेवा प्रभावित भएको हो । पहिलो ओपीडीमा कम्तीमा तीन जनाले विरामी चेकजाँच गर्ने गरेकोमा अहिले एक जनामात्र डाक्टर हुँदा बिरामीले छिटो छरितो सेवा पाउन सकेका छैनन् । त्यस्तै अवस्था इमर्जेन्सी र अन्य विभागमा पनि छ । ‘पहिले छिटो पालो आउँथ्यो ।
जाँचेर घर फर्कन सकिन्थ्यो । अहिले दिनभर पालो कुर्नुपर्छ । अझ रगत, पिसाब, खकारको ल्याव परिक्षण रिपोर्ट कुर्नु पर्दा त एकदिन बेनीमै बास बस्नुपर्ने अवस्था आएको छ’ बेनी–४ सिंगाबाट आएका पूर्णबहादुर खत्रीले भने, ‘एउटै डाक्टर घरी इन्डोस्कोपी गर्न जान्छन, घरी भर्ना भएका विरामी जाँच्न पुग्छन । अस्पतालको सेवा ढिला र लतपतको हुन थालेको छ । राम्ररी विरामीको कुरा पनि सुन्दैनन् ।’
करारका स्वास्थ्यकर्मी बाहिरिएको, छात्रवृतीका डाक्टर नआएको कारण मात्र होइन, अस्पतालमा दरबन्दीअनुसारकै डाक्टर तथा स्वास्थ्यकर्मीको पदपूर्ति नहुँदा समेत सेवा प्रभावित भएको छ ।








