१० वैशाख , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं चितवन क्षेत्र नम्बर–२ का उमेदवार रवि लामिछानेले आफ्ना समर्थकमाथि योजनाबद्ध हमला गरिएको जिकिर गरेका छन् ।
लामिछानेले फेसबुक लाइभ अरू पार्टीका उमेदवारलाई संयमित हुन आग्रह गर्दै आफू मतदान स्थलमा पुग्दा केही नाराबाजी र ग्रीड गर्ने काम भएको बताए ।
चितवन–२ अन्तर्गत भरतपुर महानगरपालिका–११ स्थित नयाँकिरण मावि मतदान केन्द्रमा आइतबार लामिछाने पुग्दा समर्थकले नाराबाजी गरेका थिए । त्यसपछि अरू पार्टीका कार्यकर्ताले आपत्ति जनाए । त्यहाँ धकेलाधकेल समेत भएको थियो ।
त्यसपछि आफ्नो निवास फर्किएर लामिछानेले फेसबुक लाइभ गरेका थिए । ‘हामी पुग्दा केही नाराबाजी र ग्रीड गर्ने काम भएको हो । यस्तो पहिले पनि भएको थियो, तर त्यस बेला प्रतिस्पर्धी उमेदवारहरूले यसलाई सामान्य रूपमा लिएर शान्तिपूर्ण मतदान भएको थियो । तर, तपाईंले पूर्वतयारी गरेर हाम्रा साथीहरूमाथि हुलहुज्जत भएको छ’, उनले भने, ‘यस्ता योजनाको जानकारी पाएर हामीले प्रशासनलाई जानकारी पनि गराएका थियौँ । म फेरि पनि तमाम मतदाता महानुभावहरूलाई भन्न चाहन्छु– संयमित भएर मतदानमा जानुस् ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सरोकारवाला सबैको ध्यानाकर्षण गराइसकेको भन्दै उनले अरू पार्टीका उमेदवारलाई पनि संयमता अपनाउन आग्रह गरे ।



