१३ असार , काठमाडौ । ललितपुरको महांकाल गाउँपालिका–३ गोटीखेलका ६३ वर्षीया मनमाया घिमिरे दीर्घरोगी हुन् ।
उच्च रक्तचाप र मधुमेहको प्रत्येक तीनरतीन महिनामा रगत जँचाएर औषधि सेवन गर्नुपर्छ । गाउँको स्वास्थ्य चौकीमा रक्तचाप र मधुमेह जाँच हुन्छ । तर, रिपोर्ट हेर्ने चिकित्सक २०७४ यता छैनन् । उनी ६ वर्षदेखि रगत जाँचकै लागि ४० किमि यात्रा गरेर सहरको क्लिनिकमा धाउँदै आएकी छन् ।
( महांकालकै ६४ वर्षीय राजकुमार भुलुन पनि मधुमेह जाँच गराउनकै लागि पाटन अस्पताल पुग्ने गरेका छन् । उनी १० वर्षदेखि मधुमेहको औषधि सेवन गर्दै आइरहेका छन् । उनलाई मधुमेह जाँच गराउन खाली पेट र खाना खाइसकेपछि रगत दिनुपर्छ । ‘गाउँमा दैनिक बिहान ८ र दिउँसो २ बजे गरेर दुई पटक मात्र सार्वजनिक गाडी चल्छ,’ उनी भन्छन्, ‘उपचार गराएर एकै दिन फर्कन सक्ने अवस्था छैन । हरेक पटक जँचाउन जाँदा बास बस्न आफन्तको कोठा खोज्दै जानुपर्ने बाध्यता छ ।’
( महांकालका ५५ वर्षीय बुद्ध तामाङलाई एक महिनाअघि एक्कासि छाती दुख्यो । उनी दमका बिरामी हुन् । यसअघि गोटीखेलकै स्वास्थ्य चौकीमा जाँच गराउँथे । त्यहाँको ६ वर्षअघि चौकीको एक्सरे मेसिनले काम गर्न छाडेयता उनी कष्टकर यात्रा गर्दै लेले टीकाभैरवको आनन्दवन अस्पतालमा पुग्ने गरेका छन् ।
यी प्रतिनिधि पात्रका कथा–व्यथाले राजधानी सहरबाट नजिक रहेको बस्तीका सर्वसाधारणले आधारभूत स्वास्थ्य सेवाका लागि समेत सास्ती खेप्नु परिरहेको थाहा हुन्छ । ललितपुरको दक्षिण भेगको केन्द्रबिन्दु गोटीखेल सातदोबाटोबाट झन्डै ५० किलोमिटर दूरीमा पर्छ । यहाँका गाउँहरूमा अझै मोटर बाटो पुगेको सकेको छैन । सबभन्दा विकट चन्दनपुर र ठूलादुर्लुङ हुन् । यहाँका बासिन्दाले स्वास्थ्य चौकीसम्म पुग्न तीनदेखि पाँच घण्टासम्म पैदल यात्रा गर्नुपर्छ । सिम्ले गाउँवासीलाई गाडी गुड्ने सडकसम्म आइपुग्न दुई घण्टा पैदल हिँड्नुपर्छ । गाडीबाट टीकाभैरवको आनन्दवन अस्पताल आइपुग्न थप दुई घण्टा कष्टकर यात्रा गर्नुपर्छ ।
मकवानपुर बेतिनीकी ५० वर्षीया कान्छी तामाङलाई आनन्दवन अस्पताल पुग्न दुई दिन लाग्यो । अस्पताल पुग्न उनले एक रात गिम्दीमा बास बस्नुपरेको थियो । उनी दमकी बिरामी हुन् । उनीहरूजस्तै सबभन्दा बढी बालबालिका, महिला, अशक्त, ज्येष्ठ नागरिक र दुर्घटनामा पर्नेहरू मर्कामा छन् ।
दक्षिण ललितपुरमा १८ वटा साबिक गाविस थिए । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेपछि कोन्ज्योसोम, वाग्मती र महांकाल गाउँपालिका बने । गाउँको भौगोलिक विकटकता र यहाँका बासिन्दाले पाएको दुःखलाई मध्यनजर गरेर २०६४ मा पाटन अस्पताल र तत्कालीन ललितपुर जिल्ला विकास समिति मिलेर स्वास्थ्य चौकीमा चिकित्सकसहितको सेवा दिने सम्झौता भएको थियो । त्यतिबेला साविक गोटीखेल, भट्टेडाँडा, आश्राङ र चौघरे गाविसको स्वास्थ्य चौकीमा पाटन अस्पतालले एकरएक जना चिकित्सक खटाउने सम्झौता भएको थियो ।
पाटन अस्पतालले गोटीखेलको स्वास्थ्य चौकीमा २०७४ असोजसम्म चिकित्सक पठायो । अन्य चौकीमा त्योभन्दा अगाडि नै चिकित्सक पठाउन छोडिसकेको थियो । गोटीखेल स्वास्थ्य चौकीका इन्चार्ज सीताराम बन्जाराले स्वास्थ्य चौकीमा पहिला हातखुट्टा भाँचिएको, पिलो आएको, सामान्य ट्युमर बढेको समेत अपरेसन हुने गरेको बताए । ‘मानसिक बिरामीको पनि उपचार हुन्थ्यो । अहिले ल्याब छ । तर, रिपोर्ट जाँच गर्ने डाक्टर छैनन्,’ उनले भने, ‘डाक्टरसहितको आधुनिक ल्याब सञ्चालनमा ल्याउन सकेमा धेरै दीर्घरोगीले गाउँमै सेवा पाउँछन् । डाक्टर भयो भने टेलिमेडिसिन ९दूर चिकित्सा० मार्फत विशेषज्ञ सेवा पनि दिन सकिन्छ ।’
सरकारले सन् २०१० मै दुर्गमका स्वास्थ्य संस्थालाई प्रादेशिक र केन्द्रीय अस्पतालसँग जोडेर बिरामीलाई यथास्थानबाट सेवा दिने उद्देश्यले टेलिमेडिसिन सेवा सुरु गरिसकेको थियो । तर, विडम्बना राजधानीसँग जोडिएको जिल्लामा समेत यो सेवा पुगेको छैन । बाबुराम भट्टराई सरकारको पालामा त जिल्लाको विकटतालाई ध्यान दिँदै गाउँमै सम्पूर्ण सेवा दिने उद्देश्यले गोटीखेलमा एकीकृत सेवा विस्तार केन्द्र सञ्चालनमा ल्याइएको थियो । तर, अहिले केन्द्र नाम मात्रैको छ । स्वास्थ्यकर्मी र कर्मचारी पुग्दैनन् ।
जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयालले गाउँमा चिकित्सक पठाउनेबारे पाटन अस्पतालसँग एक चरणको छलफल भएको बताए । ‘तर अस्पतालले बजेट अभावका कारण देखाएर पठाउन मानिरहेको छैन,’ उनले भने, ‘अस्पताललाई घरमा थला परेका बिरामीको उपचारमा सहयोग गर्न अनुरोध गरेका छौं ।’
स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा। पवनकुमार साहले टेलिमेडिसिन सेवा सुरु गर्न सम्बन्धित स्थानीय स्वास्थ्य संस्थाले प्रदेश सरकारमार्फत मन्त्रालयमा पत्राचार गर्नुपर्ने बताए । ‘त्यसपछि प्रदेशले प्रादेशिक अस्पताल र मन्त्रालयले केन्द्रीय अस्पतालका विशेषज्ञ चिकित्सकसँग समन्वय गराइदिन्छौं,’ उनले भने, ‘अहिले यो सेवाबारे स्वास्थ्य विभागको उपचारात्मक महाशाखाले हेर्छ ।’
पछिल्लो समय महांकाल गाउँपालिकाको मानीखेलमा १० शय्या र वाग्मती गाउँपालिकाको प्युटारमा ५ शय्याको अस्पताल भवन बनेको छ । कोन्ज्योसोमको शंखुमा १० शय्याको बन्दै छ । प्रदेश सरकारले मानीखेल र प्युटारका लागि एकरएक जना चिकित्सक पनि खटाएको छ । तर, अस्पतालको स्वीकृत दरबन्दीअनुसार जनशक्ति अभाव, फार्मेसी र पर्याप्त उपकरण नहुँदा बिरामीले सेवा पाउन सकेका छैनन् ।
अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू भए पनि बिरामीले पाउनुपर्ने निःशुल्क औषधि छैन । प्युटारमा वरिष्ठ डाक्टरसहित एकरएक जना नासु, लेखापाल, सहायक कम्प्युटर अधिकृत र दुईरदुई जना मेडिकल अधिकृत, अनमी, अहेव र हेल्थ असिस्टेन्ट गरी १२ कर्मचारीको दरबन्दी छ । मानीखेलमा २१ जना रहने व्यवस्था छ । मानीखेलका स्थानीय अगुवा बुद्धबहादुर नेगी भन्छन्, ‘विडम्बना यही क्षेत्रबाट निर्वाचित भएका नेताहरू मन्त्रीसमेत बने । तर, नेताहरूले गम्भीर रूपमा नलिँदा राजधानीसँग जोडिएको जिल्ला भए पनि बत्तीमुनिको अँध्यारोजस्तो भएको छ ।’
महांकाल गाउँपालिकाका अध्यक्ष गणेश केसीले मानीखेल अस्पतालमा फार्मेसीको व्यवस्थापन गर्ने तयारीमा रहेको बताए । ‘पहिलाका जनप्रतिनिधिले लथालिंग छोड्दा अहिले समस्या भएको हो,’ उनले भने, ‘पाटन अस्पतालसँग सम्झौता गरेर टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याउने योजना छ ।’
वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले अस्पताल प्रदेश सरकारले स्थानीय तहलाई हस्तान्तरण गर्न खोजेको बताए । ‘तर गाउँपालिकाले सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले हस्तान्तरण गरेर लिएको छैन,’ उनले भने, ‘दरबन्दीअनुसारको पदपूर्ति गर्न मन्त्रालयलाई पटकपटक ध्यानाकर्षण गरिरहेको छु ।’


