२५ चैत , काठमाडौ । आवश्यक परेको समयमा कुुनै पनि किसिमको स्वास्थ्य सेवा जुनसुकै क्षेत्रमा उपलब्ध हुनुपर्छ । नेपालको कानुनमा नै स्वास्थ्य सेवा सहज र सर्र्वसुलभ रुपमा उपलब्ध हुनुपर्ने भनिएको छ । तर स्वास्थ्यकर्मीकै अभावमा सबै नागरिकले सहज र सर्र्वसुलभ रुपमा स्वास्थ्य उपचार सेवा पाउन सकेका छैनन् ।
जनस्वास्थ्य ऐन २०७५ को दफा ३ मा प्रत्यक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रुपमा प्राप्त गर्ने अधिकारको व्यवस्था गरिएको छ ।
जसमा गुणस्तरीय स्वास्थ्य सेवा सहज ढंगले सर्वसुलभ रुपमा आम नागरिकले पाउनु पर्ने हो । तर, विडम्बना नेपालमा विशेषज्ञ स्वास्थ्य कर्मीको अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवा त परको कुरा आश्वयक परेको समयमा स्वास्थ्यकर्मी नै भेटाउन मुस्कील छ ।
नेपाल मेडिकल काउन्सिलमा दर्ता भएकामध्ये करिब एक तिहाइ विशेषज्ञ चिकित्सक छन् । तर अझै केही शहरी क्षेत्रबाहेक देशका धेरै स्थानमा विशेषज्ञ चिकित्सकहरू उपलब्ध हुन सकेको देखिदैन ।
स्वास्थ्य सेवा सबै ठाउँमा पुर्याउन पहलकदम चालिए पनि अहिले पनि सबै नागरिकले सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाउन नसकेको स्वास्थ्य मन्त्रालयको स्वीकारोक्ति छ ।
नेपाल मेडिकल काउन्सिलका अनुसार गत पुसको अन्तिमसम्ममा नेपालमा विशेषज्ञ चिकित्सकको संख्या १० हजार ८० जना पुगेको छ । काउन्सिलमा त्यस अवधिसम्ममा कुल ३२ हजार २ सय १८ जना चिकित्सक दर्ता भएकामा त्यसमध्ये करिब एक तिहाइ विशेषज्ञ चिकित्सक छन् ।
विशेषज्ञ चिकित्सकमध्ये ७ हजार १ सय १० जना पुरुष र २ हजार ९ सय ७० जना महिला छन् । त्यस्तै, नेपालमा दर्ता भएका विशेषज्ञ चिकित्सकमा इन्टरनल मेडिसिनतर्फ सबैभन्दा धेरै १ हजार ८८ जना रहेको काउन्सिलको विवरणमा छ ।
त्यस्तै, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ९ सय ९४, जेनेरल शल्यचिकित्सक ९ सय ४७, अर्थोपेडिक्स ८ सय ५, बालरोग विशेषज्ञ ७ सय ८१ र रेडियोलोजी तथा इमेजिङ विशेषज्ञ ६ सय ६३ जना रहेका छन् ।
नेपालमा अहिले दर्ता भएका चिकित्सकको संख्या हेर्ने हो भने त्यो अपर्याप्त होइन । तर त्यसको व्यवस्थापन पक्ष फितलो हुदाँ भने सबै स्थानमा स्वास्थ्यकर्मीको अभाव देखिएको यसका जानकारहरु बताउँछन् ।
स्वास्थ्य सेवामा देखिएको जनशक्ति अभावलाई कम गर्ने हो भने पनि केहि हदसम्म स्वास्थ्य सेवा प्रभावकारी बनाउन सकिन्छ ।
जसका लागि विशेषज्ञ चिकित्सक तथा विशिष्टीकृत सेवामा दक्ष भएका जनशक्तिलाई ग्रामीण तथा आवश्यकता बढी भएका क्षेत्रमा पठाउन आवश्यक छ ।
साथै दरबन्दी अभावका कारण रिक्त पदमा पदपूर्ती गर्ने तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहनका लागि उचित कार्ययोजना बनाएर जाने हो भने नेपालको स्वास्थ्य सेवालाई केहि सुधारको बाटोमा लैजान सकिने विश्वास गरिएको छ ।







