१४ असार, काठमाडौ ।  ५ महिनादेखि तलबभत्ताबाट वञ्चित गौरीगंगा नगरपालिकाका स्वास्थ्यकर्मीले मेयरलाई गुहारेका छन् ।

विभिन्न वडामा स्वास्थ्य चौकीमा खटिएका स्वास्थ्यकर्मीले गत फागुनदेखि तलब नपाएको बताउँछन् । पीडित स्वास्थ्यकर्मीले मेयर देवीदत्त कँडेललाई सामूहिक ज्ञापन पत्रसमेत बुझाएका छन् ।

तलब निकासा नहुँदा आर्थिक संकटमा पुगेको, छोरा छोरीलाई विद्यालय शुल्क तिर्न पनि समस्या भएको उनीहरुको गुनासो छ । असार १५ सम्म तलब निकासा गरिदिन स्वास्थ्यकर्मीको माग छ ।

छोराछोरीको मासिक शुल्क समेत तिर्न नसकी आफैंमा हीनताबोध सृजना हुनका साथै बिरामी भई औषधि उपचारको लागि समस्या सृजना भएको छ ’ मेयरलाई बुझाइएको निवेदनमा भनिएको छ ।

तलब नपाउनेमा सिनियर अहेब निरीक्षक, जनस्वास्थ्य निरीक्षक, अहेब, ल्याब असिस्टेनसमेत २४ जना छन् ।

मेयर कँडेलले तलबको लागि केन्द्रमा समन्वय भइरहेको बताए । दरबन्दीभन्दा धेरैलाई समायोजन गरेर पठाइएकाले तलब निकासा गर्न नसकिएको उनको भनाइ छ । चाँडै तलब निकासा हुने मेयरको दाबी छ ।