पृथ्वीनारायण शाहबाट जिउँदै छाला काढेर मारिएका जयन्त राना -
Comments Add Comment

Advertisment

SKIP THIS

पृथ्वीनारायण शाहबाट जिउँदै छाला काढेर मारिएका जयन्त राना

२९ भदौ ,काठमाडौ । राज्याभिषेक हुनासाथ तीर्थयात्राका लागि बनारस यात्रामा निस्केका पृथ्वीनारायण शाह तत्कालीन राजनीतिक घटना र परिस्थिति बुझ्दै, बन्दुक जस्तो प्रभावकारी हतियार तथा पालजस्तो युद्धमा काम लाग्ने बन्दोबस्तीका सामग्रीसमेत खरिद गरेर गोरखा उत्रे ।

त्यसपछि उनको पहिलो काम भयो, गोरखाको सेनापतिका लागि एक भरपर्दा नवयुवकको नियुक्ति । त्यसै क्रममा आफ्नो रोजाई मात्र होइन, लोकसम्मतिले उनले कालु पाँडेलाई गोरखाको नयाँ काजीको पगरी पहिराए ।

कालु पाँडेअघि विराज थापा मगर गोरखाको काजी थिए । उनी बुढा पनि भइसकेकाले पृथ्वीनारायण शाह नवयुवक काजीको खोजीमा थिए ९बाबुराम आचार्य, ‘पूर्णिमा’ पूर्णाङ्क ५०–भदौ २०३८ः३० ।

बनारसबाट फर्कनेबित्तिकै उनले वरपरका छिमेकी राज्यसँग रणनीतिक रूपमा शान्ति सम्झौताको पहल पनि सुरु गरे । यसका लागि तनहुँमा हरिहर पण्डित, श्री पाध्या कडरिया, लमजुङका लागि रणरुद्र शाह, लक्ष्मीनारायण पाण्डे र गुणनिधि पन्त, कास्कीका लागि गङ्गाधर पन्त र पाल्पाका लागि मणिकण्ठ रानालाई खलितापत्र र सरसौगातसहित दौडाए ९‘प्राचीन नेपाल’, सङ्ख्या २१–कात्तिक २०२९ः२२० ।

उनले ‘ब्राहृमणको खेल, खसको झेल, मगरको पेट, कसैलाई नभेट’ भन्ने उखानलाई बडो ख्यालमा राखेर ब्राह्मणलाई खेल खेल्न, खसलाई झेल गर्न र मगरको पेट पनि एकै हुन नदिने नीतिका साथ राजकाज चलाउन सुरु गरेका थिए ९‘प्राचीन नेपाल’, कात्तिक २०२९ः२४० ।

कालु पाँडेलाई काजीको जिम्मेवारी दिइसकेपछि सुरु भयो, उनको राज्यविस्तार अभियानको उद्योग । गोरखाको रक्षाको भार रणरुद्र शाहलाई दिएर वि।सं। १८०१ साउनको अन्तिम साता उनले आफ्ना भाइ महोद्दामकीर्ति शाह र काजी कालु पाँडेसहित १३ सय सैनिकलाई कुलो खन्ने बाहनामा कृषकको भेषमा खिन्च्यात उतारे ।

उनले नुवाकोटको उमराव भएर बसेका गोरखाका भूतपूर्व काजी जयन्त रानालाई आफूसँग मिल्न आउन पनि सन्देश पठाइरहेका थिए । तर कान्तिपुरको नून खाइसकेका जयन्त भने नूनको सोझो गर्दै नुवाकोटको रक्षार्थ थप सहयोग माग्न कान्तिपुर गएका थिए । यहीँ मौका पारेर पृथ्वीनारायण शाहले वि।सं। १८०१ असोज १५ गते डुङ्गाबाट आफ्नो सेना त्रिशूली पार गराई नुवाकोट उतारे । त्यसबेला महामण्डलको रक्षार्थ जयन्तका छोरा शङ्खमणि बसेका थिए । शङ्खमणिलाई ढालिसकेपछि पृथ्वीनारायण शाहले नुवाकोटमा विजयोत्सव मनाए ९बाबुराम आचार्य, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी’–२०६१ः१६४–६७० ।

त्यस बेला नुवाकोट जल्दोबल्दो र बलियो राज्य कान्तिपुर अधिनस्थ थियो । त्यसैले नुवाकोट कब्जा गर्नुको राजनीतिक महत्त्व ठूलो थियो । आफ्ना बुबा नरभूपाल शाहको समय र उनी राजा हुने वित्तिकै नुवाकोटमा गोरखाली आक्रमण भएको थियो । यी दुवै आक्रमणमा सफलता मिलेको थिएन ।

पहिलेका असफलताहरूको मनोवैज्ञानिक पीडा शान्त पार्न पनि उनको लागि नुवाकोट जित्नु अनिवार्य थियो । त्योभन्दा पनि सबैभन्दा ठूलो पक्ष आर्थिक थियो । नुवाकोटको बाटो छेकेपछि तिब्बतसँगको कान्तिपुरको ब्यापार तथा आर्थिक सम्बन्ध छिन्नभिन्न पारी आफ्नो ब्यापार तिब्बतसँग चलाउन सकिन्थ्यो । यिनै उद्देश्यहरूका साथ पृथ्वीनारायण शाहले आफ्नो राज्य विस्तार अभियानका क्रममा नुवाकोटमा हतारिएर हात हालिहाले ।

सेनाको लस्करमा मगरहरू
नुवाकोट आक्रमणका लागि पृथ्वीनारायण शाहको विशेष तयारी थियो । उनले गोरखाको रक्षार्थ रणरुद्र शाह, महेश्वर पन्त र कालु रानाजस्ता भारदारहरू राखेर आफ्नो सम्पूर्ण शक्ति र ध्यान नुवाकोट आक्रमणमा केन्द्रित गरेका थिए । उनी आफै युद्धको मोर्चामा रहेर सैन्य परिचालनमा खटिएका थिए । आफ्ना साथ चौतरियाहरूका साथै नाम चलेका भारदारहरूलाई नुवाकोट आक्रमणमा सरिक गराएका थिए । यो आक्रमणमा मगर भारदार तथा सेनाहरूको लस्कर पनि लामै रहेको ‘प्राचीन नेपाल’ ९कात्तिक २०२९ः२७–२८० मा पढ्न पाइन्छ ।

नुवाकोट आक्रमण गर्दा विभिन्न मुख गरी युद्धको मोर्चा परिचालन गरिँदा पृथ्वीनारायण स्वयम्ले तीनधारेको बाटो पक्रिएका थिए । उनको मोर्चामा खट्ने मगर सेनाहरूमा नरकेशर थापा ग्रान्जी, कृष्णमणि राना वुसाल, सोठे नतुवा थापा, वसु राना, दलजित राना, लोहार राना, जसवन्त राना, सुगे राना, चन्द्रमणि राना वुसाल थिए । यस्तै देउरूप थापा पुलामी, रत्नमणि राना, वहावल राना, भिकरी राना तर्कुले, अहिवर्ण थापा साझ ९सारु रु०, महिकर्ण थापा सारु, जगवल सारु र धोके राना पृथ्वीनारायण शाहकै मोर्चामा रहेर नुवाकोट आक्रमणका लागि खटिएका थिए ।

यस्तै पृथ्वीनारायण शाहका माहिला भाइ चौतरिया महोद्दामकीर्ति शाहको सैन्य नेतृत्वमा धर्मपानीबाट नुवाकोट आक्रमणका लागि अगाडि बढेको लस्करमा परशुराम आले क्रोकछाकी, मानसिंह आले, गणेश आले, अचल थापा ग्रान्जा र पहाड राना खटिएका थिए ।

यस्तै गेर्खुको बाटो भई अगाडि बढेको गोरखाली सेनाको नेतृत्व जहाँगिर शाहले गरेका थिए । उनको साथ देवु राना ग्याङ्मी, जैशि राना तार्कुले, प्रतिमन राना, ज्यामिरे थापा झारी, लछिमन राना, असना मिनहा आले, इन्द्रमणि राना मास्की, मन्दी थापा झारी, हृयाचल थापा रखाल, दले थापा रखाल, देउ राना वुसाल र अनन्त थापा सिंजाली खटिएका थिए ।

यस्तै अशोकबारीको बाटो गरी नुवाकोट आक्रमण गर्न जाने मोर्चाको नेतृत्व चौतरिया बलभद्र शाह र काजी कालु पाँडेका साथ माधु राना, जसु राना अर्घौले, नरवीर आले क्रोकछाकी, शक्रजित थापा मास्की, रामसिंह राना वुसाल, जसिवन्त थापा ग्रांमी, सानु राना, पठान राना तार्कुले, शिरै राना, करविर राना, सतराम राना र रुद्रमणि राना खटिएका थिए ।

यी मगरहरू जहाँ युद्धका लागि गोरखाली लस्करमा बाँधिएर गइरहेका थिए, अर्कोतर्फ उनीहरूसँग लड्न कान्तिपुरका तर्फबाट नुवाकोटमा जयन्त राना र उनका छोरा शङ्खमणि रानालगायतका मगरहरू तैनाथ थिए ।

गोरखाबाट केही मगर पलायन
नेपाली इतिहासमा जयन्त राना मगर एक चर्चित ब्यक्तित्त्व हुन् । उनले पृथ्वीनारायण शाहका बुबा राजा नरभूपाल शाहको समयमा गोरखा राज्यमा एक जना काजी ९प्रधानमन्त्रीसरह० सेवा गरेका थिए । राजा नरभूपाल शाहको निर्देशनअनुसार जयन्तले एकपटक तत्कालीन ललितपुर राज्यको अधिकार क्षेत्रअन्तरगत रहँदै आएको लामिडाँडाको एक भागमा गोरखा राज्यको अधिकार स्थापित गरिदिएका थिए ९बाबुराम आचार्य, ‘नेपालको सङ्क्षिप्त वृत्तान्त’–२०६३ः१०६० ।

पहिले काजीका रूपमा गोरखाली शाहवंशको सेवा गरेका जयन्त राना नरभूपाल शाहकै पालामा गोरखा राज्यबाट विरक्तिएका थिए । त्यहाँबाट पलायन भई नुवाकोटको उमराव भई उनले कान्तिपुर राज्यको सेवा गर्न लागेका थिए ।

नरभूपाल शाहको नुवाकोटको असफल आक्रमण वि।सं। १७९२ माघभन्दा अघि भएको थियो । यो आक्रमण असफल हुनुमा काजी महेश्वर पन्तले मगरहरूमाथि दोष थोपरेका थिए । ‘मगरहरूले सहयोग नगरेकोले नुवाकोट हार भएको हो । यी मगरहरूकै ठाउँमा म काजी हुन आएकोले म काजी भएकोमा यिनीहरू रिस गर्छन् र काममा सहयोग गर्दैनन् । यसैले मैले हजुरको काम सपार्न सकिनँ’ भनी महेश्वर पन्तले नरभूपाल शाहमा विन्ती गर्दा यो कुरा नरभूपाल शाहलाई पनि जँच्यो र यो कुरा सुनेपछि मगरहरू ‘हामी बढ्ता भएछौँ’ भन्ने विचार गरी कोही मल्ल राज्यतिर गए, कोही अन्यत्र गए ९दिनेशराज पन्त, ‘गोरखाको इतिहास’ पहिलो भाग–२०४१ः२६२० ।

यसरी गोरखाबाट पलायन हुने मगरहरूमध्ये नाम चलेका काजी जयन्त राना एक थिए । उनी ग्यामी थरका मगर हुन् । उनको नामै लिएर पृथ्वीनारायण शाहले आफ्नो उपदेशमा ‘‘महामण्डलमा ग्यामि राना थियो तं हाम्रो घरको ग्यामि होस महामण्डल छोडिदे। म छेउ आइज भनी पठाञाँ र हुन ता म हजुरैको हुँ। तर जयप्रगास मल्लको नुन षाईहाल्यां मरिमेटन्या छु भनि हाँक पारि पठायो र‘पात्रो हेरन जैसी भन्यां र पात्रा हेर्या आजका साता दिन विहाउडो सनिश्चर बार ठुलो सायत रहेछ भनि विन्ती गर्या र उहि सायतमा महामण्डल उक्लेउ र तरबरास पर्यो हाम्रा नुन्का सेषले झुकाई दिने पंथ बार्है वर्षमा मेरा भाइ दलमर्दन साहले जेठि तरबार रानाको थापलामा हान्यो र नुहाकोट साधे गरि बढाई गरेउ‘’ भनेका छन् ९बाबुराम आचार्य र योगी नरहरिनाथ, ‘बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य–उपदेश’–२०६१ः४२–४३० ।

महामण्डलको युद्धमा छोरा मारिएपछि पुत्रशोकले व्यथित र प्रतिशोधले आगो भएर जयन्त राना बेलकोटमा बसेका थिए । उनी गोरखालीसँग मुकाविला गर्न डटेर बसेका थिए । थप सेनाका लागि काठमाडौंमा पत्राचार पनि गर्दै थिए । नुवाकोटबाट भागेर आएका सबै जनतालाई एकत्रित बनाई गोरखालीसँग बदला लिन जमेर बसेका थिए ९गंगा कर्माचार्य ९हाडा०, ‘कन्ट्रीब्यूसन टू नेपालिज स्टडिज’ वर्ष ३१ अङ्क २– सन् २००४ः३४५० ।

जयन्तको यस्तो तयारी देखेर पृथ्वीनारायण शाह उत्तेजित भइहाले । उनलाई बेलकोट आक्रमण गरी जयन्तलाई तह लगाउन हतारो भइहाल्यो । उनी हतारिएर विना तयारी पालकीमा चढेर बेलकोटतिर दौडीहाले । उनको यो हतारो देखेर काजी कालु पाँडेले आफ्ना लस्कर साथै दौडादौड गर्दा पृथ्वीनारायण शाहसँग घोरघाटमा उनको भेट भयो । हात जोडी कालुले पृथ्वीनारायण शाहलाई ‘यस्ता तरहसित हडबडाइँ काम गर्नु हुँदैन’ भनी विन्ती गर्दा उल्टै ‘तैंले लडाई गर्न सिकाउलास् र म लडाईं गरुँला’ भनी नराम्रोसँग रिसाउँदै पालकी अगाडि बढाउन लगाए, ९प्राचीन नेपाल, सङ्ख्या २२–माघ २०२९ः३० ।

उनी बेलकोट पुग्दा उनीमाथि शत्रु सेनाबाट बाणको वर्षा भयो । त्यहाँ वीर वीर सेनाहरू धेरै ढले । उनी चढेको पालकी बोक्ने पुतुवार पनि घाइते भए । त्यसपछि उनले पालकी फर्काउन आदेश दिए । तर त्यतिखेरै कालु पाँडेले ‘यस कुराको विचार अघि नै गर्नुपथ्र्यो, मोहडा जोरिएपछि पछि हटे त जयन्तेले धपाएजस्तो पर्ला हट्नु हुँदैन’ भनी विन्ती गरे । जयन्त पक्राउ परेपछि युद्ध थामियो । जयन्तलाई लिएर उनीहरू नुवाकोट फर्के । मन्त्रिवर्गसँग सल्लाह गरी जयन्तको छाला टाँगेर मारियो ९प्राचीन नेपाल, माघ २०२९ः४० ।

पृथ्वीनारायण शाहले बेलकोटको युद्धमा विजय त हासिल गरे । तर उनको अनुहार मलिन थियो । आफ्ना प्रशस्तै सेना ध्वस्त भएकोमा उनलाई थकथक लागि रहेको थियो । उनले कालुलाई ‘अबदेखि कटकका कुरा विना तेरा सल्लाह गर्ने छैन’ भनी भूल स्वीकार गर्दै कालुको पीठमा धाप मारेका थिए ९कर्माचार्य ९हाडा०, सन् २००४ः३४६० ।

नुवाकोट आक्रमणमा प्रशस्तै मगर भारदार तथा सेनाहरू गोरखाली लस्करमा थिए भन्ने माथि परिसकेको छ । जयन्तका साथ हिजो गोरखाबाट पलायन भएका मगरहरू प्रशस्त सङ्ख्यामा गोरखालीविरुद्ध नुवाकोटको युद्धमा लडेको अनुमान गर्न गाह्रो छैन । बेलकोटको युद्धमा विजय हुँदा पृथ्वीनारायण शाहकै अनुहार मलिन हुने गरी गोरखाली सेना ध्वस्त भएको अवस्थामा पक्कै पनि अधिक सङ्ख्यामा मगरहरू परेको कुरा पनि अनुमान गर्न गाह्रो छैन ।

यस अनुमानअनुसार समग्रमा यो युद्धमा मगर सेना धेरै परे । त्यसमाथि पनि गोरखाली पक्षधर मगर भारदार तथा सेनाकै आँखाअगाडि जयन्त रानालाई जिउँदै छाला काढी अमानवीय किसिमले पृथ्वीनारायण शाहले प्राणदण्ड दिए । यो दृश्य सम्झदा मात्र पनि मगरहरूले इतिहासमा भोगेको एक नमीठो नियति अनुभूत हुन्छ ।

पृथ्वीनारायण शाहले प्रबन्ध गरेको उखानटुक्का ‘मगरको पेट, कहिल्यै नभेट’ नुवाकोटमा प्रयोग भयो, जहाँ आक्रमण गर्न पृथ्वीनारायण शाहको नेतृत्वमा ठूलो लस्करमा नुवाकोट पुगेका मगर भारदार र सेना, अर्कातिर प्रत्याक्रमणमा जुटेका जयन्त रानाको नेतृत्वको फौज । यी दुई पक्षको पेट एकअर्कामा नभेट्ने अवस्थामा रहेको त्यहाँ देखियो ।

इतिहास शिरोमणि बाबुराम आचार्यले ‘पूर्णिमा’ पूर्णाङ्क ५० ९भदौ २०३८ः३०मा जयन्त रानाले गरेका अघिका सेवालाई भुलेर ज्यान लिँदा पनि छाला काढी कष्ट दिनु पृथ्वीनारायण शाहको प्रशंसनीय काम थिएन भनी आलोचना गरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर


Notice: Undefined variable: post in /home/ghargha2/news24galaxy.com/wp-content/themes/a1-online/inc/extrafile/sambandhit.php on line 3

Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/ghargha2/news24galaxy.com/wp-includes/functions.php on line 6085
Advertisment

छुटाउनुभयो कि? सबै


Notice: Undefined variable: post in /home/ghargha2/news24galaxy.com/wp-content/themes/a1-online/inc/extrafile/youhavemissed.php on line 3

Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/ghargha2/news24galaxy.com/wp-includes/functions.php on line 6085