जेन–जि आन्दोलनले नेपालको राजनीतिक भूमिमा नयाँ चेतना र नयाँ आकांक्षाको बीज रोपेको छ।
त्यो आन्दोलनले केवल सडक तताएको होइन, पुरानो सोच, परम्परागत नेतृत्व शैली र पार्टीभित्रको निष्क्रियताको विरुद्ध एउटा ठूलो सन्देश पठाएको छ — अब समय परिवर्तनको हो।
तर दुर्भाग्य, नेपाली काँग्रेस अझै पनि आफ्नो पुरानो बुढौलीपन र सत्ताको मोहबाट मुक्त हुन सकेको छैन। यही कारण हो, आज युवापुस्ताको विश्वास काँग्रेसप्रति धमिलो बन्दै गएको छ।
काँग्रेस देशको सबैभन्दा पुरानो र सशक्त राजनीतिक संगठन हो, जसको कन्धामा लोकतन्त्रको जग बसाल्ने इतिहास बोकेको छ। तर आज त्यही काँग्रेस संस्थागत जडता र पुरानै शैलीमा बाँधिएको देखिन्छ। पार्टीभित्र युवा नेताहरूको आवाज सुन्ने भन्दा पनि पुराना नेताहरू अझै पनि “हामी नै थोरै राम्रो जान्ने” भन्ने सोचमा अडिएका छन्।
जब नेतृत्व परिवर्तन केवल उमेरमा होइन, सोचमा पनि हुनुपर्छ, त्यही बेला काँग्रेस भने उमेरकै घेरामा कैद भएर बसिरहेको छ।
गगन थापा, विश्व प्रकाश शर्मा, प्रदीप पौडेल, कुन्दन काफ्ले, चन्द्र भण्डारीजस्ता ऊर्जाशील नेताहरू एउटै मञ्चमा उभिएर साझा दृष्टिकोणका साथ अघि बढे भने, काँग्रेस पुनः जागरणको बाटोमा फर्कन सक्छ।
उनीहरूमा विचार छ, दृष्टि छ, र सबैभन्दा ठूलो कुरा — जनतासँग सिधा संवाद गर्ने साहस छ।
यदि यी युवाहरूले साँचै हातेमालो गरेर काँग्रेसभित्र सुधारको आन्दोलन चर्काउन सके भने, अर्को निर्वाचनमा काँग्रेस फेरि पनि देशको पहिलो शक्ति बन्न सक्छ।
तर यसको उल्टो भयो भने — यदि नेतृत्व फेरि पनि पुरानै हातमा रह्यो, र युवाहरूलाई केवल भाषणको विषय बनाइयो भने — काँग्रेस आफ्नो भविष्यको आधार गुमाउनेछ। तब युवा पुस्ता नयाँ विकल्प खोज्नेछ, नयाँ बाटो रोज्नेछ, र काँग्रेस केवल इतिहासका पानामा सीमित हुनेछ।
अबको समय सुधारको हो, सन्तुलित हस्तान्तरणको हो। काँग्रेसले आफ्नो विचार, संगठन र नेतृत्व तीनै तहमा परिवर्तन गर्न सकेन भने, जनताले त्यसको विकल्प खोज्न ढिलो गर्ने छैनन्।
यो देशका युवाहरू अब प्रतीक्षा होइन, परिवर्तनका अभियन्ता बन्न चाहन्छन्। त्यसैले, अब प्रश्न स्पष्ट छ — काँग्रेस सुधारिन्छ कि विस्थापित हुन्छ?
यदि काँग्रेसले विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशन समयमै सम्पन्न गर्न सक्यो भने, युवा पुस्ता नेतृत्वमा जान सक्ने एउटा निर्णायक खुट्किला बन्नेछ।
-आभाष पुडासैनी





