काठमाडौँ, २१ कार्तिक २०८२ – मिति २०८२ भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा क्षति ग्रस्त भएको प्रहरी प्रभाग नयाँबसपार्क, काठमाडौँ को भवन विभिन्न संघ–संस्थाको सहयोगमा पुनःनिर्माण सम्पन्न गरी आज शुक्रबार एक विशेष समारोहबीच नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ।
कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दान बहादुर कार्कीले भवन पुनःनिर्माणमा सहयोग गर्ने सबै संघसंस्था र दाताहरूलाई धन्यवाद ज्ञापन गर्दै, शान्ति–सुरक्षाको प्रत्याभूति र नागरिकमैत्री सेवा प्रवाहमा नेपाल प्रहरी सदैव अग्रपङ्क्तिमा रहने बताउनुभयो।
उहाँले भन्नुभयो, “सुरक्षाको आवश्यक प्रत्याभूति दिलाउने उद्देश्यले पुनःनिर्मित प्रहरी भवनले प्रहरीको कार्यक्षमता थप सुदृढ हुनेछ। नागरिकको अपेक्षाअनुरूप स्वच्छ र व्यावसायिक आचरणका साथ सेवा प्रवाह गर्दै शान्तिपूर्ण समाज निर्माणमा सबैको सहकार्य आवश्यक छ।”
कार्यक्रममा पुनःनिर्माणमा सहयोग गर्ने संघ–संस्थाका प्रतिनिधि तथा दाताहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो।
सो अवसरमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले धन्यवाद ज्ञापन गर्नुभएको थियो।
कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उप–प्रमुख मुरारी तामाङ, भारतीय गोरखा पूर्व सैनिकहरू, नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति, लायन्स क्लब इन्टरनेशनल ३२५ के, स्थानीय जनप्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि, सामुदायिक सेवा केन्द्रका पदाधिकारी तथा स्थानीय बासिन्दा, प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।



