Comments Add Comment

Advertisment

SKIP THIS

जिउँदा सहिद’ हिमाल शर्मा—संघर्ष, विचार र नेतृत्वको प्रतीक

काठमाडौं। नेपालको कम्युनिस्ट आन्दोलन र विद्यार्थी राजनीतिमा लामो समयदेखि सक्रिय नेता हिमाल शर्माले संघर्ष, नेतृत्व र वैचारिक दृढताको प्रतीकका रूपमा आफ्नो राजनीतिक यात्रा स्थापित गरेका छन्।

पञ्चायतकालदेखि वर्तमान निर्वाचनसम्म फैलिएको उनको यात्रा केवल व्यक्तिगत कथा नभई राज्यसत्तासँगको प्रतिरोध र निरन्तर आन्दोलनको जीवित दस्तावेज बनेको छ।

यही कारण उनलाई ‘जिउँदा सहिद’को रूपमा चिनिन्छ।
बागलुङ जिल्लाको जैमिनीमा जन्मिएका शर्माले किशोरावस्थादेखि नै बामपन्थी विचारधारामा आकर्षित हुँदै राजनीतिक चेतना विकास गरेका थिए।

पञ्चायत व्यवस्थाविरुद्ध सक्रिय रहेकै कारण उनी २०४३ सालमा पहिलो पटक जेल परे।

त्यसपछि २०४८, २०५१, २०६१ र २०६३ सालमा पटक–पटक पक्राउ परेका उनले करिब एक दशक जेल तथा भूमिगत जीवन बिताए।

जेल र भूमिगत जीवनका कठिन अनुभवले उनलाई वैचारिक रूपमा अझ परिपक्व बनाउँदै नेतृत्व र रणनीतिमा खारिएको नेता बनाएको समर्थकहरूको भनाइ छ।

२०५० देखि २०६० को दशकसम्म शर्मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मार्फत विद्यार्थी राजनीतिमा सक्रिय रहे। महासचिव हुँदै अध्यक्षसम्मको जिम्मेवारी सम्हालेका उनले विद्यार्थी आन्दोलनलाई संगठनात्मक रूपमा मजबुत बनाएका थिए।

२०६५ सालमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर क्याम्पसको स्ववियु सभापति निर्वाचित हुनु उनको विद्यार्थी राजनीतिक जीवनको महत्वपूर्ण उपलब्धि मानिन्छ ।

जनयुद्धकालमा पक्राउ परेका शर्मालाई भैरवनाथ गण (शिवपुरी ब्यारेक) मा २७ महिना अर्थात् ५०० दिनभन्दा बढी बेपत्ता अवस्थामा राखिएको थियो। आँखामा पट्टी बाँधेर तथा हातखुट्टा बाँधेर गरिएको यातनाले अन्तर्राष्ट्रिय मानवअधिकार निकायसम्म ध्यानाकर्षण गराएको थियो। २००५ डिसेम्बरमा सर्वोच्च अदालतले अवैधानिक हिरासत ठहर गर्दै रिहा आदेश दिएपछि उनी सार्वजनिक भएका थिए। यही घटनापछि उनी ‘जिउँदा सहिद’को उपनामले चिनिन थाले।

शान्ति प्रक्रियापछि शर्मा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य तथा काठमाडौं जिल्ला अध्यक्षको जिम्मेवारीमा रहे।

२०७१ सालमा एकीकृत नेकपा (माओवादी) को काठमाडौं जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका उनले भ्रष्टाचारविरुद्धको अभियान, संगठन एकता र युवा नेतृत्व प्रवर्द्धनमा जोड दिएका थिए।

हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय तथा पोलिटब्युरो सदस्य र काठमाडौं जिल्ला अध्यक्ष रहेका शर्माले २०७० सालमा पहिलो पटक काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा उम्मेदवारी दिएका थिए।

२०८२ को निर्वाचनमा उनी दोस्रो पटक तारा चिन्हबाट उम्मेदवार बनेका छन्। उनले हाल घरदैलो, टोलसभा तथा सामाजिक सञ्जालमार्फत चुनावी प्रचारलाई तीव्र बनाएका छन्। उनका प्रमुख एजेन्डामा युवा सशक्तिकरण, सुशासन, दिगो विकास, रोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार रहेका छन्।

पञ्चायतकालीन जेल जीवनदेखि विद्यार्थी आन्दोलन, जनयुद्धकालीन यातना र पार्टी नेतृत्वसम्मको यात्राले हिमाल शर्मालाई नेपाली राजनीतिमा संघर्षशील, वैचारिक र शालीन नेताका रूपमा स्थापित गरेको छ। समर्थकहरू उनलाई संसदमा देख्न चाहने नेता मान्छन् भने आगामी निर्वाचनमा उनको भूमिकाले युवा राजनीतिमा नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै