Comments Add Comment

Advertisment

SKIP THIS

यस्तो छ नेपालमा हेलिकप्टर दुर्घटनाको इतिहास

२७ असार , काठमाडौ ।  हेलिकोप्टरले सेवाग्राहीको आवश्यकता र चाहनाअनुसार विभिन्न प्रयोजनका लागि सेवा दिँदै आएको छ । मुलत संकटको बेला राहत तथा उद्दारका लागि हेलिकोप्टरको प्रयोग गर्ने गरिन्छ ।

हेलिकोप्टरलाई विकट र अप्ठ्यारो भौगोलिक क्षेत्रमा विपत पर्दा, स्थानीय वासिन्दा र पर्यटक बिरामी हुँदा उद्दार गर्ने प्रभावकारी साधनको रुपमा लिइन्छ । तर, भरपर्दो साधनको रुपमा लिएपनि बेलाबेला दुर्घटनामा पर्ने गरेको छ । नेपालको इतिहासमा कति हेलिकोप्टर दुर्घटना भए ?

सोमबार सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा क्याप्टेन सीबी गुरुङसहित छ जनाको मृत्यु भयो ।

दुर्घटनामा परी तिमा सिफुन्टेस जी फरनान्डो, गोनजालेक्स अब्रिक, गोन्जालेक्स ओकासिलियस, सिफुजेन्टस् जी मोक्स्रिटोस र रिनकोन इस्मेसको मृत्यु भएको छ ।

क्याप्टेन गुरुङबाहेक मृत्यु हुने सबै मेक्सिकन नागरिक रहेको नागरिक उड्ययन प्राधिकरण (क्यान)ले जनाएको छ । यो सहित नेपालमा हेलिकोप्टर दुर्घटना संख्या ३३ पुगेको छ ।

हेलिकोप्टर दुर्घटनामध्ये सबैभन्दा ठूलो ताप्लेजुङको घुन्सामा सन् २००६ मा भएको थियो । श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा बहालवाला वन राज्यमन्त्री गोपाल राई, संरक्षणविद् हर्क गुरुङसहित त्यसमा सवार सबै २४ जनाकै मृत्यु भएको थियो ।

सबैभन्दा पहिले २७ डिसेम्बर १९७९ मा लामटाङमा भीभीआईपी हेलिकोप्टर दुर्घटना भएको थियो । त्यस दुर्घटनामा छ जनाको मृत्यु भएको थियो ।

त्यसयता यात्रुको ज्यान जाने गरी १८ वटा हेलिकोप्टर दुर्घटना भएका छन्, जसमा एक सय भन्दा बढीको मृत्यु भएको छ । अरू १५ दुर्घटनामा यात्रु र चालक घाइते भएको क्यानको तथ्यांक छ  ।

नेपालको इतिहासमा हेलिकोप्टर दुर्घटना र मृत्यु

सन् १९७९ः लाङ्टाङमा भीभीआईपी हेलिकोप्टर दुर्घटना, छ जनाको मृत्यु

सन् १९९७ः कर्णाली एयरको हेलिकोप्टर दुर्घटना, एक जनाको मृत्यु

सन् १९९८ः मूलखर्कमा एसियन एयरको हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु

सन् २००१ः रारामा फिस्टेल एसियनको हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु

सन् २००२ः सोलुखुम्बुमा एसियन एयरकै हेलिकोप्टर दुर्घटना, ११ जनाको मृत्यु

सन् २००३ः बेस क्याम्पमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना, दुई जनाको मृत्यु

सन् २००५ः रामेछापमा हेलि हान्सको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

सन् २००६ः ताप्लेजुङमा एयरको हेलिकोप्टर दुर्घटना, बहालवाला वन राज्यमन्त्री गोपाल राईसहित २४ जनाको मृत्यु ।

सन् २०१०ः अमादब्लम् हिमालमा फिस्टेल एयरको हेलिकप्टर दुर्घटना, दुई जनाको मृत्यु

सन् २०१३ः सिमकोटमा फिस्टेल एयरकै हेलिकोप्टर दुर्घटना, एक जनाको मृत्यु

सन् २०१४ः सिन्धुपाल्चोकमा फिस्टेलकै हेलिकोप्टर दुर्घटना, एक जनाको मृत्यु

सन् २०१५ः सिन्धुपाल्चोकमा माउन्टेन हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु

सन् २०१५ः दोलखामा अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना, अमेरिकी सेनासहित १३ जनाको मृत्य

सन् २०१६ः नुवाकोटमा फिस्टेलको हेलिकोप्टर दुर्घटना, सात जनाको मृत्यु

सन् २०१८ः हिल्सामा मनाङ एयरको हेलिकोप्टर दुर्घटना, एक जनाको मृत्यु

सन् २०१८ः नुवाकोटमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना, छ जनाको मृत्यु

सन् २०१९ः ताप्लेजुङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना, तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु

सन् २०२३ः सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना, छ जनाको मृत्यु

क्यान अनुसार एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमान्ने, कुहिरोभित्र नछिर्ने मापदण्ड पालना नगर्ने, जमिनकै नजिक हेलिकोप्टर उडाउने र तोकिएको भन्दा बढी भारी बोकेका हेलिकप्टर दुर्घटनामा परेका छन् ।

नेपालको भौगोलिक अवस्था र मौसम खरावीले पनि हेलिकोप्टर दुर्घटना पर्ने गरेको छ ।

विमानहरुलाई समय–समयमा मर्मत नगरिँदा पनि दुर्घटना वढ्दै गएको तथ्यलाई पनि नकार्न सकिंदैन । यी र यस्तै विषयहरुलाई ध्यानमा राखेर सम्बन्धित निकायले काम गर्दै जाने हो भने आगामी दिनहरूमा पक्कै पनि यस्ता कहाली लाग्दा हवाई दुर्घटनाहरुलाई रोक्न सकिनेछ र अर्बौं रुपैयाँ बराबरको धनजनको नोक्सानी कम गर्न सकिनेमा दुईमत छैन ।

अब प्राधिकरणले यसको नियन्त्रणका लागि कस्तो भूमिका खेल्ला वा अझै कानमा तेल हालेरै बस्ला त्यो भने प्रतिक्षाकै विषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

स्कुटर दुर्घटनामा मृत्यु

मेरो देश नेपाल