२८ वैशाख, रुपन्देहीै । कोरोना भाइरस सङ्क्रमणका कारण रुपन्देही र दाङमा ३१ जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र दाङका विभिन्न अस्पतालमा उपचाररत सङ्क्रमितको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्ष र कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचाररत १४ सङ्क्रमितको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार मृत्यु भएकामध्ये आठ जना रुपन्देहीका छन् ।

दाङमा मात्रै १७

दाङमा बितेको २४ घण्टामा १७ कोरोनाका बिरामीको मृत्यु भएको छ । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार आज मृत्यु हुनेमा घोराहीका पाँच, तुलसीपुरका आठ, लमहीका दुई तथा गढवा र दंगीशरणका एकएक छन् ।

आज मृत्यु हुनेमा कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत आठ र होम आइसोलेशनमा बसेका पाँच जना छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई, लमहीमा होम आइसोलेशनमा बसेका एक तथा लमही अस्पताल र घोराहीको गायत्री अस्पतालमा उपचाररत एकएक जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।