
२४ कात्तिक , काठमाडो । सिङ्गो तराईसहित संघीय राजधानी काठमाडौँका नदी किनारहरूमा छठको रौनक सुरु भएको छ ।


काठमाडौँको गुह्येश्वरीमा छठ मनाउने तयारी गरिएको छ । गुह्येश्वरी छठ पूजा समितिले नदी किनार सझाउने र सफाइ गर्ने काम गरेको छ । भक्तजनहरू वारपार गर्न अस्थायी पुल बनाइएको छ ।


काठमाडौँका विभिन्न १३ ठाउँमा छठ मनाउने तयारी छ । गौरीघाट, कमलपोखरी, थापाथली, नागपोखरी लगायतका स्थानमा छठ मनाउन सरसफाइ तथा सौन्दर्यीकरणको काम भइरहेको छ ।

गौरी घाटमा छठपूजाको व्यवस्थापनका लागि दुई साताअघि २० जना कामदारले काम थालेको गौरीघाट–गुह्येश्वरी छठ पूजा समितिले जनाएको छ ।
विगतका वर्षहरूमा एक महिनाअघि नै छठपूजा व्यवस्थापनको काम सुरु हुन्थ्यो । कोभिडका कारण गत वर्ष भने नदी तथा तलाउहरूमा छठपूजा भएको थिएन । यस वर्ष पनि सरकारले नदीतलाउ खुला गर्ने हो कि होइन भन्ने अन्योलका बीच ढिला तयारी सुरु गरेको समितिका सचिव किशोर यादवले बताए ।
पशुपति क्षेत्र विकास कोष, गौरीघाट–गुह्येश्वरी छठपूजा समिति र अधिकार सम्पन्न बागमती आयोजनाको समवन्यमा व्यवस्थापनको काम भएको उनले बताए ।
गुह्येश्वरीमा छठपूराका लागि कुल १८ लाख रुपैयाँ खर्च हुने अनुमान छ । यादवका अनुसार गुह्येश्वरी घाटमा ६७५ वटा पूजा स्थल राखिएको छ । विगतमा यसवर्ष व्रतालुको भीड नहुने उनी बताउँछन् । व्रतालुले एउटा पूजा स्थलको १ हजार १ सय रुपैयाँ तिर्नुपर्नेछ । मानिसहरू छठपूजाका लागि नाम लेखाउन र टिकट लिन समितिमा पुगिरहेका छन् ।
मङ्गलबार नै छठपूजाका लागि बुझ्न आइपुगेका थिए जनकपुरका रामनारायण शाह । काठमाडौँको सुकेधारा बस्ने शाहले विगतका वर्षहरूमा जनकपुरमै छठ मनाउने गरेको भए पनि यसपालि काठमाडौँमा मनाउँदैछन् । काठमाडौँको कमलपोखरीमा पनि छठपूजाको तयारी भएको छ । थापाथलीस्थित बागमतीको किनारामा पनि तयारी गरिएको छ ।





