Comments Add Comment

Advertisment

SKIP THIS

उखु मासेर तोरी खेती

२४ मंसिर , काठमाडौं । सर्लाहीका किसान केही वर्षदेखि आफूले लगाइरहेको उखु मासेर तोरी खेतीतर्फ आकर्षित भएका छन्।

तीन/चार वर्षयता जिल्लाको लालबन्दी, हरिवन, बागमती, ईश्वरपुरलगायतका ठाउँका उखु उत्पादक किसानले आफ्नो खेतबारीमा उखु मासेर तोरीसहितको अन्नबाली बढाउँदै लगेका छन्। उखु खेतीमा लगानी गरेर लगानीसमेत नउठेपछि तोरी खेतीतर्फ लागेको हरिवन नगरपालिका–८ का किसान हरि निरौलाले बताए।

“उखुमा लगानीअनुसारको मूल्य छैन, यताका सबैजसो उखु उत्पादक किसानले अहिले उखु मासेर तोरी, परबल, बोडी, मास, धान, मकै र कोदोजस्ता परम्परागत अन्नबाली लगाउन थालेका छन्”, निरौलाले बताए।

दुई दशकअघिसम्म तोरी खेतीमा अब्बल मानिने जिल्लामा केही वर्षदेखि उखु खेतीप्रतिको आकर्षण बढेको थियो। तर वर्षभरि लगानी गरेर उत्पादन भएको उखु बिक्री गरेको रकम उद्योगले भुक्तानी नगर्दा दिक्दार भएका जिल्लाका उखु उत्पादक किसान अन्य खेतीतर्फ मोडिएका हुन्।

सरकार, उद्योगी र किसान प्रतिनिधिबीच भएको सहमतिअनुसार उद्योगीले प्रतिक्विन्टल रु पाँच सय २० र नेपाल सरकारले रु ७० अनुदान रकम दिने सहमति गरिएपनि उद्योगले सहमतिअनुसारको रकम भुक्तानी नगरेकाले आफूहरु उखु छोडेर तोरी, परबल, बोडी, मास, धान, मकै र कोदोजस्ता परम्परागत अन्नबाली लगाउन थालेको हरिवन नगरपालिका–२ का किसान रामपुकार महतोले बताए।

उनका अनुसार जिल्लामा रहेका तीनवटा चिनी मिल मध्ये इन्द शङ्कर चिनी उद्योगबाहेक अरु उद्योगले किसानको रकम भुक्तानी गरेका छैनन्। महालक्ष्मी र अन्नपूर्ण चिनी उद्योग उखु अभावले गर्दा बन्दजस्तै अवस्थामा छन्। जिल्लामा देशकै धेरै चिनी मिल भए पनि उखु २५ हजार हेक्टर क्षेत्रमा र धान ४६ हजार पाँच सय हेक्टर क्षेत्रमा खेती हुँदै आइरहेको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहले बताए।

हरिवनमा चिनी उद्योग स्थापना भएपछि किसानले सबैखाले अन्न बाली मासेर आफ्ना खेतबारीमा उखु लगाउन सुरु गरेका थिए। करिब २० वर्षपछि यहाँका किसान पुनः उखु खेती मासेर पुरानै खेतीमा फर्किएका स्थानीय जानकार राजकुमार उप्रेतीले बताए। “किसानले तोरी खेती मासेपछि खाने तेलको मूल्य आकासियो, अहिले तोरी झार्ने बित्तिकै क्विन्टलको करिब रु १५ हजारका दरले बिक्री हुन्छ। जग्गा जमिन धेरै हुनेले व्यावसायिक उद्देश्यले तोरी खेती गरेका छन्। थोरै जमिन हुनेले आफ्ना लागि मात्रै भए पनि तोरी लगाउन थालेका छन्। उखु लगाउँदा वर्षमा एक पटक उत्पादन निस्कने भए पनि तोरी खेतीमा वर्षमा तीन/चार बाली लगाउन पाइने र लगानी धेरै नलाग्ने हुँदा उखुको विकल्पमा लागेका छन्”, उप्रेतीले बताए।

थोरै लगानी गर्दा मनग्ये आम्दानी हुने भएपछि जिल्लाका उखु उत्पादक किसानले तोरी खेती बढाउन थालेका छन्। सिँचाइ सुविधा नभएको जमिनमा पनि धेरथोर तोरी उत्पादन हुन्छ। “जसका कारण पनि किसानको मनफेरि पुरानै खेतीतर्फ मोडिएको हो”, गोडैता नगरपालिका–४ का कपिल महतो भन्छन्। जिल्लाका किसानले धान, हिउँदे मकैजस्ता बाली उठाएपछि तोरी खेती गर्छन्। तोरीभित्र चना, मुसुरोजस्ता दलहन बाली पनि उत्पादन हुन्छ। तोरी र चना भित्र्याएपछि खेत बर्खे मकै खेतीका लागि तयार हुन्छ। “तीन बाली लगाउँदा किसानले उखु खेतीबाट भन्दा पनि धेरै आम्दानी गर्छन्”, स्थानीय छोटेलाल साहले बताए।

यता, जिल्लाका उखु उत्पादक किसानलाई आफूहरुले नयाँ प्रजातिको उखुखेती गर्न बीउ वितरण गरेकाले जिल्लामा उखु उत्पादन बढ्ने इन्दु शङ्कर चिनी उद्योगका उखु प्रबन्धक योग नारायण रजकले बताए। उखु खेतीका लागि देशमै अब्बल मानिएको नयाँ प्रजातिको उखु जिल्लाका उखु उत्पादक किसानलाई वितरण गरिएका कारण उखु उत्पादनमा क्षेत्रफल घटे पनि उत्पादनमा कमी नआउने उद्योगको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै