८ माघ ,काठमाडौ । तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले आफूविरुद्ध फेसबुकमा लेखेको भन्दै एक वडाध्यक्षलाई पत्र काटेका छन् । वडा नम्बर ५ का वडाध्यक्ष शम्भुप्रसाद फुयाललाई महर्जनले फोहोर उठाउनेसम्बन्धी विषयमा फेसबुकमा लेखेको भन्दै तीन दिनको म्याद दिएर पत्र काटेका हुन् ।

फुयालले पुस २९ मा ‘तारकेश्वर नगरपालिकामा वार्षिक रूपमा जनताले फोहोर मैलाको नाममा ७ करोड बुझाउँछन् । कसलाई बुझाउँछन् थाहा छैन । हिजोको मेयर पनि चुप आजको मेयर पनि चुप’ भनेर लेखेका थिए ।

यसप्रति आपत्ति जनाउँदै महर्जनले माघ २ गतेको मितिमा स्थानीय सरकार सञ्चालन ऐन बमोजिम सार्वजनिक शिष्टाचार उलंघन गरेको भन्दै पोस्टसँग सम्बन्धित विषयमा यथार्थ विवरण ३ दिनभित्र कार्यालयमा पेस गर्न भन्दै स्पष्टीकरण पत्र काटेका हुन् ।

उक्त पत्रपछि सोमबार वडाध्यक्ष फुयालले लिखित जवाफ पठाएका छन् । तर उनले आफ्नो वडा क्षेत्र तथा नगर कार्यसमिति सदस्यको हैसियतले वडा र समग्र नगरपालिका क्षेत्रभित्र र सोबाट पनि समाधान नभएमा आम नागरिकलाई यथार्थ जानकारी गराउनु आफ्नो दायित्व भएको स्पष्ट पारेका छन् ।

उनले नगरपालिकाभित्र फोहोरको विषय गम्भीरुपमा रहेको उल्लेख गर्दै फोहोर उठाउने सवालमा वैधानिक बाटोको बारेमा प्रश्न रहेको पनि उल्लेख गरेका छन् । उनले आम नागरिकले उठाउने सुशासन र पारदर्शिताको विषयमा बोल्न र लेख्न नगरपालिकाको अनुमति लिनुपर्ने हो भन्दै प्रश्न समेत गरेका छन् ।

उनले विकृति, विसंगति अन्त्य गरी पारदर्शिता तथा सुशासन कायमका लागि तुरुन्त पहलका लागि नगरमा फोहोर संकलन गर्न प्रतिस्पर्धाको आधारमा प्रक्रिया अघि बढाउन पनि आग्रह गरेका छन् ।

स्पष्टीकरण सोध्ने र बुझाउने दुबै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । तर, एकै पार्टीका भएपनि फुयालले महर्जनको कार्यशैलीमाथि विगतमा पनि प्रश्न उठाउने गरेको कांग्रेसका स्थानीय नेताहरू बताउँछन् ।

मेयर कांग्रेस नेता भिमसेनदास प्रधान निकट हुन् भने अध्यक्ष फुयाल काठमाडौँ जिल्ला सभापति सबुज बानियाँ निकट मानिन्छन् । सोही कारणले पनि गुटगत टकराव देखिएको उनीहरुको भनाइ छ ।