१६ कात्तिक , काठमाडौ । भनिन्छ , देशमा जनताको हरेक अधिकारहरु प्रजातान्त्रिक सरकार भएको अवस्थामा मात्र ग्यारेन्टी हुन्छ ।
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य तथा रोजगारीका अवसरहरु निरंकुश शासन ब्यबस्था भएको मुलुकमा भन्दा प्रजातान्त्रिक ब्यबस्थामा सहज हुन्छ ।
तर “गरिबको गाई हुनुभन्दा धनीको कुकुर हुनु ठीक” भनेको नेपाली उखान पनि नेपालको हालको अवस्थालाई मध्यनजर गर्ने हो भने सान्दर्भिक देखिन्छ ।
गत गणतन्त्र दिवसमा मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिद्वारा आम माफी पाएका प्राय अपराधिक कृयाकलापमा संलग्न ब्यक्तिहरुको चरित्र देख्दा माफी पाएपछि पनि कोही फिरौतीमा हिड्ने त कोही लावालस्करसहित प्रजातन्त्रको लागि लडेको नेताजस्तो सान देखाउने , कोही फेरि पून: मान्छे काट्ने जस्ता कृयाकलापमा संलग्न भएकोले अहिले न्यायपालिकाले गरेको फैसलालाई लत्याएर कार्यपालिका र राष्ट्रपति मिलेर त्यस्ता जघन्य अपराधीलाई दल विशेषको ट्याग भिरेकै भरमा आम माफी दिंदा जताततै व्यापक बिरोधको आवाज घनेको छ ।
कयौं दिनदेखि आरती र भारतीको आवाज बुलन्द गर्न सम्बन्धित पक्ष माइतीघर मन्डलामा न्यायको पर्खाइमा सरकारको बिरोधमा अनसन बसिरहेका छन । दाइजोको नाममा आरतीको हत्या गर्नेलाई पक्राउ गर्न तथा रिगल भनिने हत्यारा योगराज ढकालको १२ वर्ष कैद माफी गरेकोमा भारती पनि धर्नामा छिन । उता सरकार र राष्ट्रपति संस्था मौन छ ।
यसरी देशमा अहिले हरेक क्षेत्रमा अराजकताको स्थिति पैदा भएको छ । एकातिर आर्थिक मन्दी र मंहगीले जनताको ढाड सेकिएको छ भने अर्कोतिर सरकारका पदाधिकारी बिदेश भ्रमणमा ब्यस्त छन ।
एउटा तथ्यांक सार्वजनिक भएसँगै नेपालमा सवभन्दा बढी भ्रष्टाचार राजनीतिक नेता र कर्मचारीमा पाइएको तथ्य त चप्पल पड्काएर काठमांडौ छिरेका नेताको आलिसान महल र पजेरो प्राड मोहले नै देखाउँछ भने एउटा सुब्बाको जागिरले बीस वर्षको अवधिमा २२ वटा घर घडेरी जोडेको प्रसंग पनि धेरै टाढा छैन ।
त्यसैले देशमा न्यायपालिकाले गरेको कामकारवाहीलाई कार्यपालिकाले यसरी नै लत्याउने र वेवास्था गर्दै गुन्डाराजलाई प्रश्रय दिंदै जाने हो भने प्राकृत्तिक न्यायको सिद्दान्तको धज्जी उडाइएको होइन र ? अनि के न्याय पाउने र आवाजबिहीनहरुको आवाज बुलन्द गर्ने तथा सहाराको एकमात्र बिकल्प माइतीघर मन्डला मात्र हो त ?
खिमराज गिरी







