Comments Add Comment

Advertisment

SKIP THIS

अर्नाको अति उत्साहले क्रिकेटमा निम्त्याएको जोखिम

१६ कात्तिक , काठमाडौ । टी-२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा स्थान बनाइसकेको नेपाल समूह विजेता बन्न भने असफल भयो । ओमानसँगको प्रतिस्पर्धामा नेपालले हार व्यहोरेपछि भोलिको निर्णायक सेमिफाइनलअघि समर्थकहरु अलिकति नर्भस बनेका छन् ।

ओमानसँग नेपालले राम्रो बलिङ गरे पनि ब्याटिङमा चुकेको थियो । त्रिवि मैदानमा १४६ रनको लक्ष्य ठूलो होइन । तर, ब्याट्सम्यानहरु एकपछि अर्को ‘गैरजिम्मेवार सट’ खेल्दै आउट भए । अधिकांश ब्याट्सम्यान ठूलो सट हान्ने चक्करमा आउट हुन पुगेका थिए ।

हुन त टी-२० भनेको आक्रामक क्रिकेट हो । तर, यसमा पनि परिस्थितिअनुसार आफूलाई ढाल्न सक्नुपर्छ । आवश्यकताअनुसार कहिलेकाहीं सम्हालिएर खेल्नुपर्छ । सिंगल डबल गर्दै इनिङ बुन्नुपर्छ । आज नेपालका ब्याट्सम्यानले त्यो सुझबुझ देखाउन सकेनन् । अन्यथा आज एउटामात्रै राम्रो पार्टनरसीप नेपालका लागि पर्याप्त हुने थियो ।

यसमा खेलाडीलाई मात्र दोष दिन नमिल्ला । टीम रणनीति नै आक्रामक खेल्ने पनि हुनसक्छ । प्रशिक्षकले निर्देशन दिएर पठाएका पनि हुन सक्छन् कि आफ्नो शैलीमा खेल । जे भए पनि नेपाल सेमिफाइनलमा पुगिसकेको हुँदा यो हारले त्यति धेरै मर्माहत गर्ने छैन । तर, भोलिको सेमिफाइनल अति महत्वपूर्ण छ । त्यसमा चाहिँ नेपाली टीमलाई कुनै गल्ती गर्ने छुट छैन । अन्यथा संघारमा आइसकेको विश्वकपको सपना चकनाचुर हुनेछ ।

खैर १ यहाँ चर्चा गर्न खोजिएको विषय चाहिँ अलि फरक छ । यो प्रतियोगिताअघि एउटा निजी कम्पनीले खेलाडीलाई प्रोत्साहन गर्न नगद पुरस्कारको आकर्षक स्किम घोषणा गरेको थियो । प्रत्येक सिंगल रनमा एक हजार, छक्कामा २० हजार, चौकामा १० हजार, विकेटमा २५ हजार इत्यादि । बियर कम्पनी अर्नाले घोषणा गरेको यो स्किमले तहल्का नै मच्चायो । क्रिकेट समर्थकहरुले अर्नाको हाइहाइ गरिरहेका छन् । कतिले अब अर्ना बियरमात्रै पिउने घोषणा पनि गरे । अर्ना हौसिएको छ । यसको सिको गर्दै थप केही कम्पनीले खेलाडीलाई नगद पुरस्कार घोषणा गरेका छन् ।

नेपाली क्रिकेट खेलाडीका लागि यसरी निजी कम्पनीहरुले गर्न खोजेको प्रोत्साहन सराहनीय हो । तर, के महत्वपूर्ण प्रतियोगिताअघि यसरी नगद पुरस्कारको पूर्वघोषणा गर्नु उचित हो ? यसले मैदानमा खेलाडीको मानसिकतालाई प्रभावित त गर्दैन रु टीमभित्रको माहोल बिग्रिने त होइन रु विमर्श भएको छ ।

पछिल्ला वर्षहरुमा नेपाली क्रिकेट टीमले निकै उचाइ लिइरहेको छ । हालैमात्र नेपालले एसिया कपमा भारत(पाकिस्तान जस्ता बलिया राष्ट्रहरुसँग खेल्यो । एक दिवसीय मान्यता सुरक्षित गर्‍यो । एक दिवसीय विश्वकप क्वालिफायर खेल्यो । अन्तर्राष्ट्रिय मिडियाहरुले नेपालको चर्चा र प्रशंसा गर्न थालेका छन् । क्रिकेटरहरु घरघरमा चिनिन थालेका छन् ।

यो सफलताको श्रेय कसैलाई जान्छ भने त्यो खेलाडीलाई नै जान्छ । केही मात्रामा प्रशिक्षकहरुलाई । उनीहरुकै प्रतिभा र मेहनतले नेपाल यहाँसम्म आइपुगेको हो । अन्यथा क्रिकेटको विकासमा सरकारको पहल र प्रयास लगभग शून्य छ । कुनै प्रतियोगिता जित्दा नगद पुरस्कार बाँड्नेबाहेक खेलाडीलाई पनि प्रोत्साहन छैन । खेलाडीले क्रिकेटमा भविष्य सुरक्षित छ भनेर ढुक्क हुने वातावरण अझै बन्न सकेको छैन ।

नगद पुरस्कारले क्षणिक हौसला मिल्छ । तर, त्यो दिगो हुँदैन । यो भनेको आकाशे खेती जस्तै हो । हरेक प्रतियोगितापिच्छे खेलाडीलाई लाखौं बाँड्दा राज्यको ढुकुटीले पनि धान्न सक्दैन । क्रिकेट र खेलाडीहरुको उत्थानका लागि सरकार र निजी क्षेत्रले हातेमालो गरेर दीर्घकालीन योजनासहित अगाडि बढ्नुपर्ने हो । तर, त्यो भइरहेको छैन ।

नेपाली क्रिकेटमा सबैभन्दा बढी खट्किरहेको पहिलो कुरा हो भौतिक संरचना । नेपालले एक दिवसीय राष्ट्रको मान्यता प्राप्त गरेको यतिका वर्ष भइसक्यो । तर, देशमा एउटा पनि सुविधायुक्त क्रिकेट रंगशाला छैन । नेपालको खेल भनेपछि दर्शकको भेल उर्लिन्छ । तर, टिकट काटेर चिसो भुईंमा बस्न बाध्य छन् । टिकट नपाएकाहरु रुख चढ्नुपर्ने अवस्था छ ।

दोस्रो हो, घरेलु प्रतियोगिताको अभाव । नयाँ प्रतिभाहरु उत्पादन गर्न ग्रासरुटदेखि संरचनागत रुपमा क्रिकेट प्रतियोगिता हुनुपर्छ । क्षेत्रीय(राष्ट्रियस्तरका प्रतियोगिता पनि नियमित गरिनुपर्छ । अन्यथा राष्ट्रिय टीममा नरहेका खेलाडीहरुले खेल्ने अवसर नै पाउँदैनन् । यसले गर्दा नेपालको बेञ्च स्ट्रेन्थ बलियो हुन सकेको छैन । नयाँ प्रतिभाहरुले हुर्कने मौका पाएका छैनन् ।

जो राष्ट्रिय टीममा पर्छन्, उनीहरुलाई क्यानले सेन्ट्रल कन्ट्राक्टमा राखेर तलब दिन्छ । बेलाबखत नगद पुरस्कार पाउँछन् । तर, जो सेन्ट्रल कन्ट्राक्टमा छैनन्, उनीहरुले कतैबाट केही पनि पाउँदैनन् । अनि क्रिकेटबाट पलायन हुन बाध्य बन्छन् । अहिलेको प्रणालीले मुस्किलले दुई दर्जन खेलाडीमात्रै आर्थिक रुपमा लाभान्वित छन् ।

तेस्रो हो, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा । नेपालले लामो समयदेखि यूएई, हङकङ र ओमान जस्ता टीमहरुसँग खेल्दै आएको छ । तर, अब योभन्दा माथि उठ्ने बेला हो । सधैं यूएई(हङकङसँगको जीतमा रमाएर हुँदैन । क्रिकेट संघले कम्तिमा नेदरल्यान्ड, आयरल्यान्ड, अफगानिस्तान, जिम्बाबे, वेस्ट इन्डिजसँग द्विपक्षीय सिरिजहरु आयोजना गर्न सक्नुपर्छ । यतिबेला यी देशहरु नेपालसँग सिरिज खेल्न तयार हुन पनि सक्छन् । तर, नेपालमा एउटा गतिलो रंगशाला चाहियो ।

माथिका यी तीन कुराका लागि सबैभन्दा पहिलो शर्त हो( क्रिकेट संघ आर्थिक रुपमा बलियो हुनुपर्‍यो । सरकार र आईसीसीले दिएको सीमित बजेटले मात्रै यो सम्भव हुँदैन । निजी क्षेत्रले हातेमाले गर्नैपर्छ । आज अर्ना र डिस होमले जुन उत्साह देखाइरहेका छन्, त्यसलाई संस्थागत गर्नु र निजी क्षेत्रलाई थप आकर्षित गर्नु क्यानको जिम्मेवारी हो ।

यतिबेला क्रिकेटमा निजी क्षेत्रको अभूतपूर्व आकर्षण बढेको छ । उनीहरु खेलाडीका लागि खुलेर पैसा खर्च गरिरहेका छन् । नगद पुरस्कारको होडबाजी भइरहेको छ । तर, यस्तो होडबाजीले क्रिकेटको संस्थागत विकास हुन सक्दैन । बरु जोखिम बढाउँछ ।

कस्तो जोखिम ?

अर्नाले खेलाडीलाई प्रत्येक रनका लागि एक हजार, अनि छक्का र चौकाका लागि क्रमशः १० हजार र २० हजारको पुरस्कार घोषणा गरेको छ । यस्तै प्रत्येक डट बलका लागि एक हजार, विकेटका लागि २५ हजार दिने भनेको छ ।

वास्तवमा यो सानो राशी होइन । तर, जोखिम चाहिँ के हो भने यो पूर्वघोषणाले खेलाडीहरुले गर्ने प्रदर्शन र उनीहरुको मानसिकता प्रभावित बन्न सक्छ । मैदानमा बलिङ, ब्याटिङ वा फिल्डिङ गरिरहँदा खेलाडीको देब्रे दिमाग घोषित रकममा जान सक्छ कि सक्दैन रु ब्याट्सम्यानले एउटा छक्कालाई २० हजार रुपैयाँ सोच्न थाल्यो भने के होला रु परिस्थितिअनुसार सम्हालिएर खेल्नेभन्दा छक्का-चौका हान्ने सुरमा अनावश्यक जोखिम उठायो भने रु एउटा क्याचलाई २५ हजार सोचेर बल समात्न फिल्डरहरुबीच नै हानाथाप भयो भने रु बढी रकम जित्ने खेलाडी र कम रकम जित्ने वा जित्दै नजित्ने खेलाडीहरुबीच गुटबन्दी भयो भने रु यी सबैको जिम्मेवारी कसले लिने ?

क्रिकेट एउटा टीम गेम हो । कहिले एउटा खेलाडी चल्छ, कहिले अर्को । भाग्यले पनि साथ दिनुपर्छ । ब्याट्सम्यानको कहिलेकाहीं खराब सटमा पनि चौका लाग्छ । कहिले राम्रो सटमा आउट पनि हुन पुग्छ । बलरको पनि त्यस्तै हो । कहिले राम्रो बलमा पनि छक्का खान सक्छ । कहिले खराब बलले पनि विकेट लिन सक्छ ।

टीममा सबैले ब्याटिङ र बलिङका लागि समान अवसर नपाउन सक्छ । जस्तो कि अघिल्लो क्रममा ब्याटिङ गर्नेहरुले बढी बल फेस गर्न पाउँछन् । बढी रन हान्ने अवसर पनि उनीहरुलाई हुन्छ । पछिल्लो क्रममा रहनेहरुको कहिलेकाहीं पालो नै आउँदैन । बलिङमा पनि यस्तै हो । कुनै बलरले मानौं अन्तिमका महत्वहीन ३ विकेट लियो । तर, ५० रन खर्चियो । अर्को बलरले विकेट लिन सकेन । तर, क्रिटिकल ४ ओभरमा १५ रनमात्रै खर्चियो । प्रभावकारी त दोस्रो बलर हो । रकम वर्षिन्छ पहिलो बलरको खातामा ।

सबै खेलाडीले आफूलाई ‘प्रुफ’ गरेर नै राष्ट्रिय टीममा परेका हुन्छन् । तर, सधैं क्षमताअनुसार नै प्रदर्शन हुन्छ भन्ने छैन । कहिलेकाहीं भेट्रान खेलाडी पनि एउटा सिंगो सिरिजमा चलेका हुँदैनन् । एउटा नचल्दा अर्को चल्नुपर्छ । त्यसैले हार-जीतको जस-अपजस सिंगो टीमले नै लिनुपर्छ । खेलाडीले जीतका लागि भन्दा पुरस्कारका लागि खेल्ने स्थिति बन्न दिनु हुँदैन ।

पुरस्कारको पूर्वघोषणाले कप्तानलाई पनि दबाब पर्न सक्छ । जस्तो कि कप्तान रोहित पौडेलले अघिल्लो म्याचमा आफैंले दुई ओभर बलिङ गरे । अब उनले पुरस्कारको लोभमा आफैंलाई बलिङमा उतारे भनेर कमेन्ट गर्नेहरुको मुख कसले थुन्ने ? कहिलेकाहीं कप्तानले परिस्थितिअनुसार ब्याटिङ अर्डरमा तलमाथि गर्नुपर्छ । माथिल्लो क्रमको ब्याट्सम्यानलाई तल्लो क्रममा झारियो भने ऊ असन्तुष्ट हुन सक्ने डर क्याप्टेनलाई हुने भयो । कुनै बलरले आफूलाई थोरै ओभर दिएको वा कुनै अलराउन्डरले आफूलाई बलिङ गर्न नदिएको भनेर पनि कप्तानसँग असन्तुष्टि पोख्न सक्ने भए ।

अर्नाको पुरस्कार प्रणालीबाट एउटै टीमका कोही मालामाल हुनेछन् त कोही खाली हात । अहिलेसम्म प्लेइङ ११ मा नपरेका दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, प्रतिश जिसी, विनोद भण्डारीले आगामी म्याचमा पनि खेल्न पाएनन् भने खाली हात हुने भए । जबकि केही खेलाडीको खातामा लाखौं रकम चढिसकेको छ । यसले टीमभित्रको सौहार्दमा आँच आउन सक्छ ।

क्रिकेट लंगुरबुर्जा जस्तो भयो । अर्नाले चाँडै सच्याओस् । क्षणिक प्रचारप्रसारको मोहमा पर्नु हुँदैन । खेलाडीलाई नगद पुरस्कार दिँदा तत्कालीन रुपमा अर्नाको प्रचारप्रसार व्यापक भएको छ । तर, पुरस्कार वितरणमा गर्ने खर्च क्रिकेटको संस्थागत विकासमा लगानी गर्ने हो भने त्यसको वृहद फाइदा हुन्छ, क्रिकेटलाई मात्र होइन, स्वयम् कम्पनीलाई पनि । होइन भने नेपालले खेल जित्दा अर्नाको पनि हाइहाइ हुन्छ, हार्दा खेलाडीलाई पुरस्कार थाप्न पनि लाज हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment