३० जेठ , काठमाडौ । जारी आईसीसी टी–२० विश्वकपमा आज भारत र अमेरिकाबीच खेल हुँदैछ । खेल अमेरिकाको न्युयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार, राति २०ः१५ बजे सुरु हुनेछ ।

अमेरिका र भारत दुबै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ । यो खेलमा जित हात पार्ने टोली प्रतियोगिताको सुपर–८ चरणमा पुग्नेछ । भारत र अमेरिका प्रतियोगिताको समूह ‘ए’ मा छन् । त्यो समूहमा पाकिस्तान, क्यानडा र आयरल्यान्ड पनि रहेका छन् ।

यो समूहमा हालसम्म ६ खेल खेलिसकिएको छ । समूहको पहिलो खेलमा अमेरिकाले क्यानडालाई सात विकेटले हराएको थियो । दोस्रो खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले र तेस्रो खेलमा अमेरिकाले पाकिस्तानलाई ‘सुपर ओभर’ मा हराएका थिए ।

दुई खेल खेलेको भारत चार अङ्कसहित पहिलो र समान खेलबाट समान अङ्क बटुलेको आयोजक अमेरिका दोस्रो स्थानमा छन् । टी–२० विश्वकपमा भारतको यो नवौँ सहभागिता हो । भारतले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । भारत पहिलो संस्करणको विजेता पनि हो । त्यतिबेला भारतले फाइनलमा चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई पाँच रनले हराएको थियो ।

अमेरिकाको टी–२० विश्वकपमा यो पहिलो सहभागिता हो । अमेरिकाले क्रिकेटको ठुलो अन्तर्राष्ट्रिय प्रतियोगितामै सहभागिता जनाएको यो पहिलोपटक हो । अमेरिकाले आयोजकका रूपमा विश्वकप खेल्ने अवसर पाएको हो । भारत र अमेरिकाले हालसम्म आपसमा कुनै नि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन् । त्यसैले यो विश्वकपमा बुधबार राति खेलिने खेल नै यी दुई राष्ट्रबिचको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।

भारतीय टोलीमा रोहित शर्मा (कप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, शिवम दुबे, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, कुलदीप यादव, जसप्रित बुमराह, अर्शदीप सिंह, संजु सामसन, अक्षर पटेल, युजवेन्द्र चहल र मोहम्मद सिराज रहेका छन् ।

यस्तै अमेरिकी टोलीमा मोनांक पटेल (कप्तान), एरोन जोन्स, एन्ड्रियस गौस, कोरी एन्डर्सन, अली खान, हरमित सिंह, जसप्रित सिंह, मिलिन्द कुमार, निसर्ग पटेल, नितिश कुमार, नास्थुस केनजिगे, सौरभ नेत्रवाल्कर, शेड्ली वान, स्टिवन टेलर र शयन जहांगिर रहेका छन् ।