२६ मंसिर काठमाडौ । पछिल्लो पटक काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ । उपत्यकामा दिउँसो घाम लागे पनि बिहान र साँझ चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार उपत्यकामा पछिल्लो २४ घन्टाको तापक्रम न्यूनतम ५.४ डिग्रिसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.८ डिग्री रहेको छ । विशेषगरी राति र बिहान तापक्रम घट्न थालेको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
यस्तो अवस्थामा बिहान र राति घरबाहिर ननिस्कने र निस्कनै परे न्यानो लुगा लगाउनुपर्छ,’ उनले भने । जुम्लाको तापक्रम माइनस ४.७ डिग्री मापन भएको छ । त्यहाँ अधितम तापक्रम १५.९ डिग्री रहेको छ ।
तराईमा पनि चिसो बढेको छ । तराईका जिल्लामा हुस्सु लाग्न थालेको हो । धेरै गर्मी हुनेमध्येको नेपालगन्जमा न्यूनतम तापक्रम १०.३ डिग्रीमा झरेको छ भने अधिकतम तापक्रम २४ डिग्री रहेको छ । विराटनगरको न्यूनतम तापक्रम ११.५ र अधिकतम २५.३ मापन भएको छ ।





