१६ पुष , काठमाडौं । सङ्खुवासभाको पिलुवाखोलामा निर्माण भएको मेन्छियाम हाइड्रोपावरले ४.७२ मेगावाट विद्युत उत्पादन सुरु गरेको छ । पूर्वराज्यमन्त्री दीपक खड्काको सक्रियतामा सङ्खुवासभाको चैनपुर नगरपालिकास्थित पिलुवाखोलामा एक अर्ब ३१ करोड लगानीमा निर्माण भएको सो हाइड्रोपावरले विद्युत उत्पादन सुरु गरेको हो ।
उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । उक्त जलविद्युत् आयोजनाको शुभारम्भ भने हाइड्रोपावरका अध्यक्ष खड्का र उद्योगपति विनोद चौधरीले पुस १३ गते सङ्खुवासभामा गरिसकेका छन् ।
हाइड्रोपावर सम्पन्न भएको अवसरमा यहाँ आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता खड्काले कोरोना महामारीका कारण हाइड्रोपावर निर्माणमा केही ढिला भएको बताए । उनले छ वर्ष लगाएर उक्त हाइड्रोपावर सम्पन्न गरेको जानकारी दिए । ‘स्थानीयवासीलाई पहिलो प्राथमिकतामा राखेर शेयर निष्काशन गर्ने तयारीमा जुटेका छौँ’, उनले भने ।
इन्जिनियर विकल थापाले उक्त जलविद्युत् आयोजनाको पाँच दशमलव दुई मेघावाट उत्पादन गर्नसक्ने क्षमता रहेको बताए ।







