१४ फागुन , काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले विज्ञप्ति जारी गरेर आफू मौन नबस्ने बताएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू झस्किएको बताएका छन् ।
एमाले–माओवादीसहितको गठबन्धनमा राजसंस्थाकाृ वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सहभागी भएको विषय कोट्याउदै प्रचण्डले आफू गलत गठबन्धनमा त थिइन भन्ने महशुस भएको बताएका छन् ।
राप्रपाका मन्त्रीहरुले पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेपनि प्रचण्डले पूर्वराजाको सक्रियता बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटामा प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णयमा हस्ताक्षर गर्ने दलमा राप्रपा पनि थियो ।
राप्रपाले पृ्थ्वी जयन्तीदेखि विभिन्न मुद्दामा अडान राख्दै सरकारका न्यूनतम साझा कार्यक्रम तय गरेपछि सरकारमा गयो । तर, सरकारमा रहेको राप्रपाले सरकारलाई असहयोग गरेको आरोप समेत लाग्दै आएको थियो ।
विशेष गरि कानून मन्त्री ध्रुव बहादुर प्रधानले नागरिक उन्मुक्त्ति पार्टीका बन्दीलाई रिहा गर्ने सवालमा सहयोग गर्न नचाहेको भन्दै माओवादी केन्द्रसहितका दलमा केहि आक्रोश देखिने गरेको थियो । तर, सत्ता सहयात्री दल भएकाले यसबारे धेरै बोल्ने अवस्था नबन्दा विषय यत्तिकै सेलाउने स्थितिमा पुगेको थियो ।
राप्रपा बौरिएको देखेका पूर्वराजा ज्ञानेन्द्रले विज्ञप्ति नै जारी गरेर प्रजातन्त्र खतरामा परेको भन्दै आफू धेरै समय मौन नरहने बताए ।
राजाले यस्तो बताएपछि मौन रहेको राप्रपाले औपचारिक रुपमा केहि नबताएपनि नेताहरुले राजाको स्वभाविक प्रक्रिया आएको दाबी गर्दै आएका थिए ।
राप्रपा र एमाले अध्यक्ष केपी ओलीवीचको सामिप्यतामाथि नै आशंकित बनेका प्रचण्डले गठबन्धन फेर्ने जोखिम मोलेपछिको पहिलो सार्वजनिक अभिव्यक्तिमै राप्रपासहितको गठबन्धनमा रहेर गल्ती भयो कि भन्ने आभाष भएको दाबी गरेका छन् ।
राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गरेपछि महेन्द्र नारायण नीधिको १०१ औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले वर्तमान सत्ता गठबन्धनमा धेरै कुरा भएपनि भन्दै राप्रपा र पूर्वराजाको भूमिकाप्रति आक्रोश र आशंका व्यक्त गरेका छन् ।
यसअघि नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरुले ज्ञानेन्द्रलाई राजनीतिमा आउन चुनौति दिदै आएका छन् ।



