काठमाडौं । प्रहरीले वीरगञ्जमा गोली चलाएको छ । घटनामा काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मद हत्यामा संलग्न भनिएका एक आरोपी घाइते भएका छन् ।

घाइते हुनेमा भारतीय नागरिक बब्लु पासवान छन् । उनको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र पेस्तोल समेत बरामद गरेको छ ।

पासवान नेपाल छिरेको भन्ने सूचनाका आधारमा खोजी गरिरहेको प्रहरीसँग जम्काभेट भएपछि उनले आक्रमण गर्न खोजेको पर्साका एसपी कुमोध ढुंगेल बताएका छन् । त्यसक्रममा गोली हानेर उनलाई नियन्त्रणमा लिइएको ढुंगेलले बताए । देब्रे खुट्टामा गोली लागेका उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा २०७९ असोजमा गोली प्रहारबाटमोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या भएको थियो । यो घटनाका उनी मुख्य योजनाकार रहेको प्रहरीको भनाइ छ ।

उक्त घटनामा मोहम्मतको टाउकोमा २ गोली, दाहिने हातमा एउटा र दायाँ तिघ्रामा एक गोली लागेको थियो भने उपचारको क्रममा उनको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

गोठाटारमा मोहम्मद दर्जीले ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’ नामको गार्मेन्ट चलाएका थिए भने घरमा पुग्नै लाग्दा मोटरसाइकलमा आएका दुई जनाले गोली हानेर भागेका थिए ।

जोरपाटीबाट कपडा प्याक गर्ने प्लाष्टिक लिएर फर्केका उनलाई रातिको समयमा बा६ च ५१५२ नम्बरको गाडीबाट ओर्लिनासाथ दुई जनाले गोली हानेका थिए । उक्त घटनामा त्यतिबेलै प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेपनि भारतीय नागरिक बब्लु पासवान भने फरार रहँदै आएका थिए ।