काठमाडौँ, कात्तिक २२ – बालाजु–१६, काठमाडौँस्थित जीवन रक्षा बचत तथा ऋण सहकारी संस्था लि. को १६औँ वार्षिक साधारण सभा आज एक भव्य समारोहका बीच सम्पन्न भएको छ।
“उन्नतिको सहयोगी, जीवन रक्षा सहकारी” भन्ने नाराका साथ अगाडि बढिरहेको यस सहकारी संस्थाको सभा बालाजुस्थित गोरखा प्यालेसमा आयोजना गरिएको थियो।
सभाको अध्यक्षता संस्थाका अध्यक्ष श्री शालिकराम घिमिरेले गर्नुभयो भने कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ महानगरपालिका वडा नं. १६ की सदस्य शारदा सुवेदी रहनुभएको थियो। सो अवसरमा संस्थाका पूर्व अध्यक्षहरू, सल्लाहकार समिति, र सञ्चालक समितिका पदाधिकारीहरू विशेष अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा उपाध्यक्ष श्री देवकुमार श्रेष्ठ, सचिव श्री महेशराज रेग्मी, कोषाध्यक्ष श्री सुदन थापा, सञ्चालक सदस्यहरू श्री हरि विक्रम छड्का, श्री वेदराज पौडेल, र श्री नविन अधिकारीलगायत सम्पूर्ण पदाधिकारी उपस्थित थिए।
सचिव श्री महेशराज रेग्मीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आर्थिक स्थिति, बचत तथा ऋण व्यवस्थापन, आम्दानी–व्यय र सदस्य सेवाका कार्यक्रमबारे विस्तृत जानकारी दिनुभयो।
त्यसपछि लेखा समितिका संयोजक श्री सुधेश रेग्मी, सदस्यहरू श्री कृष्णप्रसाद फुयाँल (भोटु) र श्री दिनेशकुमार रेग्मीले लेखा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको पारदर्शिता र आर्थिक स्थायित्वबारे प्रकाश पार्नुभयो।
ऋण उप–समितिका संयोजक श्री नविन अधिकारी, सदस्यहरू श्री महेन्द्रकुमार श्रेष्ठ र श्री पुरषोत्तम अधिकारीले ऋण वितरण, असुली र आगामी वर्षका नयाँ योजनाबारे विस्तृत विवरण दिनुभयो।
त्यसैगरी सल्लाहकार समितिका सदस्य श्री शान्तलाल श्रेष्ठ र श्री सानुकान्छा तामाङले संस्थाले अझ सशक्त र पारदर्शी नीति अवलम्बन गर्दै सदस्य हितका कार्यक्रमहरूमा प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो।
सभामा सहभागी सदस्यहरूले संस्थाको विगतका उपलब्धिहरू र व्यवस्थापनप्रति सन्तोष व्यक्त गर्दै सहकारीलाई अझ आधुनिक, डिजिटल प्रणालीमा आधारित र प्रभावकारी बनाउने माग गरेका थिए।
सभाले बचत वृद्धि, नयाँ सदस्यता विस्तार, सहकारी शिक्षाको सशक्तीकरण तथा डिजिटल प्रणाली लागू गर्ने प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि श्रीमती शारदा सुवेदीले संस्थाले देखाएको प्रगति, अनुशासन र सदस्य विश्वासको उच्च स्तरको प्रशंसा गर्दै सहकारीको भूमिकाले स्थानीय आर्थिक विकासमा महत्वपूर्ण योगदान दिइरहेको बताउनुभयो।
अन्त्यमा संस्थाका अध्यक्ष श्री शालिकराम घिमिरेले सम्बोधन गर्दै भन्नुभयो –
“देशभर सहकारीहरू विभिन्न समस्यामा फसेका बेला पनि जीवन रक्षा सहकारीले आफ्नो विश्वसनीयता र स्थायित्व कायम राख्न सफल भएको छ। हाल हाम्रो संस्थामा एकजना सदस्यको खातामा मात्र तीन करोड रुपैयाँ रहेको छ, र ती रकम तत्काल फिर्ता दिन सक्ने हाम्रो क्षमता छ। यो हाम्रो पारदर्शिता, चुस्त व्यवस्थापन र सदस्य विश्वासको प्रमाण हो।”
उहाँले सबै सदस्य, पदाधिकारी, कर्मचारी तथा सहकर्मीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सहकारीलाई अझ सुदृढ, पारदर्शी र आत्मनिर्भर बनाउन सबैको निरन्तर साथ र माया आवश्यक रहेको बताउनुभयो।




















