१३ असार , काठमाडौं । दाङको सीमासँग जोडिएको भारतको मनिकापुरमा हाटबजार हिँडेका नेपाली चेलीको भारतमा बलात्कृत भएका छन् । दाङ राजपुर गाउँपालिका–६ कैरवानाका चेलीहरू बलात्कारसँगै लुटपाटमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आइतवार दिउँसो भारतको मनिकापुरमा लाग्ने हाटबजार हिँडेका ६ नेपाली किशोरीमध्ये २ जना सामूहिक बलात्कृत भएका हुन् । यस्तै ४ जना लुटपाटमा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी प्रवक्ता मुकुन्द रिजालले आइतबार दिउँसो हाटबजार हिँडेका ६ जना नेपाली किशोरीमध्ये भारतको जंगलमा २ जना माथि सामुहिक बलात्कार र ४ जना लुटपाटमा परेको जानकारी दिए । घटनापछि पीडितका आफन्त र स्थानीयहरुले उनीहरुको उद्धार गरेको डिएसपी रिजालले जानकारी दिए ।
घटनापछि स्थानीयले भारतको हरैया थानामा उजुरी दिए थिए । उजुरी पछि घटनामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीले चारजना पक्राउ गरेको उनको भनाइ छ । पक्राउ परेकाहरुलाई प्रहरीले आवश्यक कानुनी प्रक्रिया थालनी गरिसकेको जनाएको छ । घटनास्थलतर्फ नेपाली सुरक्षाकर्मीको टोली आज बिहान हिँडेको उनले बताए । थप कुरा नेपाली सुरक्षाकर्मीको सूचनाको आधारमा भन्न सकिने उनले बताए ।







