२४ जेठ , काठमाडौं । रुकुमपूर्वमा महिलाको हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।रुकुमकोट जिल्ला अदालतका न्यायाधीश सनतचन्द्र लवटको इजलासले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–११ का नवनिर्वाचित वडाध्यक्ष कुमारसिंह बुढासहित तीन जनालाई थुनामा राख्न आदेश दिएको हो ।
सोमबार वडाध्यक्षसँगै सोही वडाका निवर्तमान वडाध्यक्ष जयबहादुर बुढा र उनका भाइ अर्जुन बुढालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले पुथा उत्तरगङ्गा गाउँपालिका–१० की ३९ वर्षीया दुँठी बुढा भन्ने जुनमाया बुढाको हत्या आरोपमा निजहरूलाई कारागार चलान गर्ने आदेश भएको बताए ।





