काठमाडौँ । ६८ औँ प्रहरी दिवसको अवसरमा उपत्यका ट्राफिक प्रहरी कार्यालय पुरस्कृत भएको छ ।
ट्राफिक व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै प्रहरी महानिरीक्षक वसन्त कुँवरले उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिआईजी पोषराज पोखरेललाई पुरस्कार प्रदान गरेका हुन् ।
नेपाल प्रहरी अन्तर प्रदेश कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) मा ट्राफिक व्यवस्थापनमा उपत्यका ट्राफिक प्रहरी कार्यालय उत्कृष्ट ठहरिएको छ । कार्यदक्षता मुल्यांकनमा उत्कृष्ट ठहरिएका अन्य प्रहरी कार्यालयहरुलाई पनि पुरस्कृत गरिएको छ ।
नेपाल प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक ध्रुव राज राउत, प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीका प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण हरि शर्मा, प्रदेश प्रहरी गण खजुरा बाँकेका प्रहरी उपरीक्षक माधव प्रसाद बुढाथोकी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मी, ईलाका प्रहरी कार्यालय बुटवल रूपन्देहीका प्रहरी नायव उपरीक्षक दान बहादुर थापा र प्रहरी चौकी श्रीअन्तु ईलामका प्रहरी वरिष्ठ नायव निरीक्षक किरण प्रसाई पुरस्कृत भएका छन्।
त्यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरूमा कार्यरत प्रहरी कर्मचारीहरूलाई प्रोत्साहन तथा उच्च मनोबल प्रदान गर्नको लागि यसै वर्षदेखि यूनिसेफ नेपालको सहकार्यमा सञ्चालित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक समीक्षा खत्री, द्वितीय हुने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी हवल्दार देवी पाण्डे, तृतीय हुने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक निरला भण्डारी तथा सान्तवना पुरस्कारतर्फ जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सरिता विश्वकर्मा र जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी सहायक हवल्दार वीरेन्द्र बिक पुरस्कृत भएका छन्।


