२१ जेठ , काठमाडौ । २४ घण्टाभित्र वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका पाँच कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या तथा कडा निमोनियाबाट ग्रसित रहेका चार पुरुष र एक महिला सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका निवासी दुई र रौतहट निवासी तीन कोरोना सङ्क्रमित रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिए। उनले वीरगञ्ज-१६ नगवा निवासी ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो १२;२० बजे र वीरगञ्ज-१७ अलों निवासी ८० वर्षीय पुरुषको बिहीबार बिहान ७ बजे उपचारका क्रममा मृत्यु भएको बताए ।

त्यसैगरी रौतहटको गौर नगरपालिका–७ निवासी ७० वर्षीया महिलाको बिहीबार बिहान २स् ३०, बरथवा नगरपालिका-५ निवासी ५५ वर्षीय पुरुषको बिहीबार राति ९;५५ र रौतहटकै रौधामाई नगरपालिका-६ निवासी ४० वर्षीय पुरुषको राति ८;५० बजे उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।