२४ आषाढ ,काठमाडौ । पहिरो खस्दा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो । राजमार्गअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ शाहुखर्कमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको स्थानीयवासीले जनाएका छन् ।

राजमार्गमा माथिबाट पहिरो खसेको छ । राजमार्ग सञ्चालन गर्न बिहानैदेखि डोजर प्रयोग गरिएका छन ।

ठूला ठूला ढुङ्गासहित राजमार्गमा पहिरो खसेकाले सञ्चालन हुन अझै समय लाग्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा हजारौँ यात्रुसँगै मालबाहक ट्रक शाहुखर्क वरपर रोकिएको प्रहरीले जनाएको छ ।

तनहुँमा पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण आएको बाढीको कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पानीको बहाव बढेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । पानीको बहाव घटाउन प्रहरी र स्थानीयवासी खटिइरहेको उनले बताए ।