१२ भदौ , काठमाडौ । ‘एक घर, एक धारा’को लक्ष्यसहित सञ्चालित गलकोट बृहत् खानेपानी आयोजनाको काम धमाधम भइरहेको छ ।
गलकोट नगरपालिका वडा नं ३, ५ र ७ का १२ सय घरधुरीमा खानेपानीको सहज पहुँच पुर्याउन डेढ वर्षअघि आयोजना शुरु गरिएको थियो ।
सङ्घ सरकारअन्तर्गत खानेपानी मन्त्रालयको रु १७ करोड बजेटमा बन्न लागेको आयोजना आगामी दुई वर्षभित्र सक्ने लक्ष्य छ । सुरुमा वडा नं ७ मल्मको गगनपानी ९क० बाट निर्माण थालिएकामा अहिले सबै ‘स्किम’मा कामले गति लिएको छ ।
आयोजनामा १० साना ‘स्किम’ छन् । आयोजनाका अध्यक्ष छुमबहादुर थापाका अनुसार गगनपानी (क) मा मुहान, इन्टेकसहित ३० हजारका तीन र ५० हजार लिटरको एउटा ट्याङ्की निर्माण भइसकेको छ ।
यस्तै दुई किमिमा पाइप बिछ्याउने काम पूरा भएको छ । गगनपानी (ख) मा ३० हजारका दुई र ५० हजारको एउटा ट्याङ्की बनेको छ । मुहान र इन्टेकसहित दुई हजार ५०० मिटरमा पाइप बिछ्याइ सकिएको अध्यक्ष थापाले बताए ।
गगनपानी (क) बाट मल्मका अर्बेदी, कोल, गहते र सिरबारे बस्तीका बासिन्दा लाभान्वित हुनेछन् भने ९ख० बाट खोलापारी, साहनीडाँडा र बतासेडाँडामा खानेपानी पुग्नेछ ।
वडा नं ७ मा गगनपानी (क), (ख) सहित खाल्टेपानी–टोक्री–निलापानी, खाल्टेपानी–पौडेपानी, डुन्डुरा–मल्मडाँडा, सिद्धथान–सिरबारे र चिसापानी–आँगाखेत गरी सात साना ‘स्किम’ छन् ।
अरु ‘स्किम’मा पनि मुहान, ट्याङ्की र पाइपलाइनको काम भइरहेको हो । वडा नं ३ मा पनि चार ट्याङ्की निर्माण भइसकेका छन् । सो वडामा नयाँ पँधेरा र भुके मुहानको पानीलाई आयोजनामार्फत घरघरमा वितरण गर्न लागिएको हो । त्यहाँका खसगाउँ, कोतमैदान, स्याँला, लमाइलगायतका बस्ती आयोजनाबाट लाभान्वित हुनेछन् ।
यस्तै वडा नं ५ को रुस्ती ‘स्किम’बाट हरिचौर बजारलगायत आसपासका बस्तीमा खानेपानी पुर्याइँदैछ । कोरोना महामारी र वर्षायामका बाबजुद पनि निर्माणको काम भने नरोकिएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, बेनी, म्याग्दीका सुपरभाइजर मणी कँडेलले बताए ।
उनले पूर्वाधार तयारीसँगै खानेपानी वितरणको काम छिट्टै शुरु हुने बताए ।







