३१ भदौ , काठमाडौ । बेलायतका युवा खेलाडी जुड बेलिङहामले च्याम्पियन्स लिगमा किलियान एम्बाप्पेले बनाएको सबैभन्दा कम उमेरमा लगातार दुई खेलमा गोल गर्ने कीर्तिमान भंग गरेका छन् ।

बुधबार बेसिक्टासविरुद्ध जीत हासिल गर्ने क्रममा गोल गर्दै उनले सो रेकर्ड बनाएका हुन् । २–१ को जीत हासिल गर्दा बेलिङहामले टोलीका लागि पहिलो गोल गरे भने अर्लिङ हालान्डका लागि दोस्रो गोलको अवसर सिर्जना गरेका थिए ।
पछिल्लो पटक च्याम्पियन्स लिगमा बेलिङहामले म्यान्चेस्टर सिटीविरुद्धको क्वार्टरफाइनल खेल खेलका थिए । उक्त खेलमा उनले गोल गरेका थिए ।
बेसिक्टासविरुद्ध गोल गर्दा बेलिङहाम १८ वर्ष ७८ दिनका थिए । एम्बाप्पेले सन् २०१७ को मार्चमा मोनाकोसँग यो कीर्तिमान बनाउँदा उनी १८ वर्ष ८५ दिनका थिए ।
यस्तै, बेलिङहाम च्याम्पियन्स लिगको अवे खेलमा गोल गर्ने सबैभन्दा युवा बेलायती खेलाडी पनि बनेका छन् । यसअघि यो कीर्तिमान लिभरपुलका टे«न्ट अलेक्सान्डर आर्नोल्डको नाममा रहेको थियो ।





