
२० असोज , काठमाडौ । असोज कृष्णपक्षको अन्तिम दिन आज आफ्ना दिवङ्गत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन गरिँदैछ ।

बडादशैँ पर्व सुरु हुनुअघि पितृ (दिवङ्गत आफन्त)लाई तर्पण दिँदै असोज कृष्णपक्षभरिको पितृपक्ष आज विसर्जन गर्न लागिएको हो । पितृ विसर्जन गर्न आज मैथिल परम्पराअनुसार जिल्लाका धार्मिकस्थल र पवित्र जलासय एकाबिहानै भरिभराउ छन् ।

पितृपक्षमा धार्मिकस्थलमा पितृलाई तर्पण र पिण्ड दिने हिन्दू मैथिल परम्परा छ । यसै परम्परालाई थाम्दै आज हिन्दू मैथिलले महोत्तरीका धार्मिक महत्वका जलाशय र धार्मिकस्थलमा तर्पण तथा पिण्ड दिएर १५ दिने पितृपक्ष विसर्जन गर्न लागेका हुन् ।

यस अवसरमा जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिर, पुरन्दर, वरुण र भार्गव सर (तलाउ)तथा जिल्लाकै मटिहानीस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा पितृ तर्पण दिनेहरु भरिभराउ छन् । यसबाहेक बलवा नगरपालिकाको ध्रुवकुण्ड, भङ्गाहा नगरपालिकाको सिद्धनाथस्थान, बर्दिबास नगरपालिकाभित्रका टुटेश्वरनाथ महादेव मन्दिर, राईमण्डल धार्मिक क्षेत्र र रातु, मरहा, जङ्घा एवं बाँके नदी किनारमा श्रद्धालुहरुको जमघट देखिएको छ ।

पितृपक्षमा तीर्थस्थलमा तर्पण र पिण्डदान गरे पितृ तृप्त हुन्छन् भन्ने मैथिल–हिन्दू जनविश्वास छ । यजमान (श्राद्ध गर्ने कर्ता) को भीड बढेसँगै पुरोहित (कर्मकाण्डी ब्राह्मण)लाई पनि भ्याइनभ्याइ परेको छ । कर्तापिच्छे गोत्र, नाउँ र पितृको फरक–फरक सङ्कल्प पढ्नु र कर्तालाई अह्राइरहनुपरेको पुरोहित बताउँछन् ।

मिथिलामा असोज कृष्णपक्षका १५ तिथिभित्र १६ तिथि (पूर्णिमा तिथिको श्राद्ध असोज कृष्ण प्रतिपदा वा औँसीका दिन गरिनेसमेत १६)का श्राद्ध गरिने भएकाले यसलाई ‘सोलहसराद’ (सोह्रश्राद्ध) पनि भन्ने गरिन्छ । पूर्णिमा तिथिको पार्वण श्राद्ध पनि औँसीका दिन गरिने भएकाले पक्ष १५ दिनकै भए पनि श्राद्धचाहिँ १६ तिथिका हुने भएकाले यो पक्षलाई ‘सोलहसराद’ भन्ने गरिएको बर्दिवास–२ का कर्मकाण्डी ब्राह्मण (पुरोहित) महेशकुमार झा बताउँछन् ।
दशैँ, तिहार र छठजस्ता महान् चाडवाडअघि पितृलाई तृप्त गर्न एउटा पक्षभरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा चलेको हिन्दू परम्पराको कर्मकाण्डका ज्ञाता बताउँछन् ।





