
२५ असोज ,काठमाडौ । ठेकेदार कम्पनीले प्रयोगशालाको नक्कली प्रतिवेदन बनाएर बुझाएको खुलासा भएपछि ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनको काम रोकिएको छ ।

ठेकेदार कम्पनी रुज–जगदम्बा–भुवनेश्वरी एन्ड बैभव जेभीका ठेकेदारले निर्माणाधीन प्रशासनिक भवनको पिलरको गुणस्तर परीक्षण गर्दा प्रयोगशालाको नक्कली प्रतिवेदन बनाएपछि गाउँपालिकाले पत्र पठाएर काम रोक्न लगाएको हो ।

ठेकेदार कम्पनीले निर्माणाधीन भवनको काममा लापरवाही गरेकाले गाउँपालिकाको तर्फबाट गत भदौ–१५ गते औपचारिक रुपमा पत्राचार गरेर निर्माणको काम तथा भुक्तानीलगायतका सम्पूर्ण प्रक्रिया रोकिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए । गाउँपालिकाले पत्राचार गर्नुअघि नै निर्माण व्यवसायीले निर्माणाधीन प्रशासनिक भवनको पहिलो स्ल्याब ढलान गरिसकेका थिए ।

गाउँपालिकाको प्रशासनिक भवनको भूइँतलाको पिलरको गुणस्तर परीक्षणका लागि गत जेठ–२१ गते स्याम्पल ९कङ्क्रिट क्युब० सङ्कलन गरिएको थियो । संकलन गरिएका कंक्रिट क्युब परीक्षण गर्न ललितपुरस्थित गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा पठाइएको गाउँपालिकाले जनाएको छ ।

केन्द्रले ‘प्रशासनिक भवनको संरचना निर्माणका क्रममा सम्झौता अनुसारको गुणस्तर कायम नगरेको’ उल्लेख गर्दै असार–२३ गते प्रतिवेदन दिएको थियो । तर, निर्माण कम्पनीले साउन–१० गतेमात्रै गाउँपालिकालाई ल्याबको प्रतिवेदन बुझाएको थियो ।
पहिलो प्रतिवेदन बुझाएको दुई दिनपछि त्रुटि भएको भन्दै अर्को प्रतिवेदन इमेलमार्फत गाउँपालिकामा पठाएको जनाइएको छ । जसमा ‘२३ असारमा परिपत्र भएको क्युब टेस्टको प्रतिवेदन मेसिनमा केही त्रुटि भई गलत भएकाले उक्त प्रतिवेदन फेरि सच्याएर पठाइएको’ उल्लेख छ । तर, भदौ–२७ गते गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले पनि गाउँपालिकालाई प्रतिवेदन पठाएको थियो ।
दोस्रो पटक प्रतिवेदन पठाएलगत्तै शंका लागेर अध्ययन गरेपछि मात्रै निर्माण कम्पनीले दिएको ल्याब प्रतिवेदन नक्कली भएको खुलेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवले जनाइन् । ‘प्राविधिक शाखामा पेश भएको ल्याब प्रतिवेदन अध्ययन गर्दा नक्कली र झूटो भएको आशंका भएपछि त्यसको पुष्टि गर्न गाउँपालिकाले केन्द्रलाई पत्राचार गरेको थियो’, उनले भने, ‘केन्द्रले जवाफ पठाएपछि निर्माण कम्पनीले सरकारी कागजात दुरुपयोग गरी नक्कली ल्याब प्रतिवेदन तयार गरेको पाइएको छ । यस विषयमा कानूनी कारवाहीको प्रक्रिया अगाढि बढाइएको छ ।’





