
२३ कात्तिक , काठमाडौ । ‘काचही बास के दउरीया आइपर सुगा मिर्राई, मारबउ रे सुगवा धनुख सँ सुगा गिरे मुर्झाई’, यतिबेला यस्तै गीतसंगीतले तराई मधेशका छठ पर्वको रौनकतालाई अझ बढाइदिएको छ ।

यस्ता गीतसंगीत एफएम रेडियोदेखि ग्रामिण क्षेत्रका लाउडिस्पीकरहरूमा बच्ने गरेकोले तराई मधेश छठमय हुनु पुगेको छ । लोक आस्था र प्राकृतिको पूजा भनेर चिनिने छठ पर्व सोमवारदेखि विधिवत् रूपमा सुरु भएको छ ।

चार दिने छठ पर्वको पहिलो दिन सोमबार श्रद्र्धुभक्तजनहरूले नुहाई खाई गरेका छन् । दोस्रो दिन मंगलवार राति खरना, तेस्रो दिन बुधबार अस्ताउँदै गरेको र बिहीबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिई यो पर्व सम्पन्न हुनेछ । जनकपुरका गंगासागर, धनुष सागर, दशरथ तलाउ, अगजासर लगायतका प्रमुख पोखरीमा घाट निर्माण गरिएको छ ।
आस्थाको पर्व
छठ पर्व मनाउने महिला वा पुरुष व्रतालुले औँशी तिथि लागेसँगै माछामासु वा मांसाहारी भोजन त्याग गर्छन् । तिहारको चौथौ दिन नित्य कर्मपछि ब्रतमा बस्नेहरू लसुन, प्याज, उसिना चामलको भातबाहेक शुद्ध शाकाहारी खाना, खीर, दुध केरा खान्छन् । पञ्चमी तिथिमा दिनभरि निराहारपछि रातिमा गर्ने पूजा र फलाहारको यस दिनलाई खरना भनिन्छ । षष्ठीका दिन व्रत बसिन्छ र व्रत बस्नेहरूले अन्नजल ग्रहण गर्दैन् ।
छैठमा लागि भुस्वा, ठेकुवा, लड्डुलगायत परिकार बनाएर त्यसलाई बाँसको डालोमा राखी सूर्य अस्त हुनुभन्दा अगावै नदी वा पोखरीमा छठ पूजा गर्छन् । करिब ४० घण्टासम्म भोकै बस्ने व्रतालुले घण्टौँसम्म पानीमा उभिएर अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई अर्घ दिन्छ ।
लोकप्रिय हुँदै छठ पर्व
केही दशकअघि नेपालको तराई र भारतको विहार, उत्तर प्रदेशलगायतका राज्यमा धुमधामका साथ मनाइने छठ पर्व यतिबेला नेपालको पहाड तथा भारतका विभिन्न राज्यहरूमा मनाइने गरिन्छ ।





