
२५ कात्तिक ,काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई मन्त्रिपरिषद् विस्तारका लागि सकस परेको छ । गठबन्धनमा रहेका दलहरूसँगको सहकार्यमा सरकारको नेतृत्व गरेका पाण्डेलाई मन्त्रालय बाँडफाँटमै समस्या परेको हो ।

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेतासमेत रहेका पाण्डेले प्रदेश सरकार गठनका लागि पाण्डेले गठबन्धनका अन्य तीन दल नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपासँग सहकार्य गरेका छन् । यद्यपि सरकार गठन भएको दुई सातासम्म पनि उनले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

संसदबाट विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद् विस्तारको योजनामा रहेका मुख्यमन्त्री पाण्डे अहिले कुन दललाई कति मन्त्रालय दिने भन्ने हर–हिसाबमै रुमल्लिएका छन् । प्रदेश सरकारमा रहेका ८ मन्त्रालयले गठबन्धन घटकमा भागबण्डा नपुग्ने भएपछि उनलाई मन्त्रिपरिषद् विस्तारमा समस्या भएको हो ।
बागमती प्रदेशमा हाल कायम रहेको मन्त्रालयले गठबन्धनका दलहरूलाई भाग नै नपुग्ने सत्ता पक्षकै एक प्रदेशसभा सदस्य बताउँछन् । भागवण्डा मिलाउनका लागि मन्त्रालय विभाजन गर्नुपर्ने अवस्था रहेको र कतिवटा मन्त्रालय बनाउने भन्नेबारे छलफल भइरहेको उनको भनाइ छ ।
संसदबाट विश्वासको मत पाए लगत्तै मुख्यमन्त्री पाण्डेले गठबन्धनका दलहरूसँगको बैठकमा सरकारमा सहभागी गराउनेको सूची मागेका थिए । तर सहयोगी घटकहरुले मन्त्रालय र संख्या यकिन भएपछि मात्र मन्त्रीको नाम दिने बताएपछि मन्त्रिपरिषद विस्तार प्रक्रिया ओझेलमा परेको हो ।
बागमती प्रदेशमा हाल कायम रहेका ८ मन्त्रालयलाई विभाजन गरी १३ वटा सम्म बनाउन सकिने र त्यस आधारमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन हुन सक्ने बागमती प्रदेशका एक मन्त्रीले बताए ।
‘यसअघि बागमती प्रदेशकी निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एउटा मन्त्रालय विभाजन गरेर मन्त्रालयको संख्या ८ पु(याएकी थिइन् । उनले ८ मन्त्रालयमा ८ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गरेकी थिइन् । ‘हामी पनि सकेसम्म त्यतिमै सीमित गर्ने प्रयासमा छौं,’ ती मन्त्रीले news24galaxy सँग भने, ‘सम्भव नरहेको खण्डमा आवश्यकता अनुसार मन्त्रालय विभाजन गरेर १४ वटासम्म बनाउने गरी छलफलमा छौं ।’




