
७ मंसिर , काठमाडौ । विवादका कारण नेपाली कांग्रेस कपिलवस्तुको संघीय निर्वाचन क्षेत्रको अधिवेशन स्थगित भएको छ ।

जिल्ला सभापति सुरेन्द्रराज आचार्य (पौडेल पक्ष) समूहले विवाद झिकेकाले अधिवेशन स्थगित भएको संस्थापन पक्षले आरोप लगाएको छ ।जिल्ला सभापति आचार्य र जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्तले सूचना जारी गर्दै तयारी नपुगेकाले अर्को सूचना जारी नहुँदासम्म अधिवेशन स्थगित भएको जानकारी गराएका छन् ।

क्षेत्र नम्बर १ मा आचार्य पक्षले मतदान हुने स्थल पायक नपर्ने भन्दै विवाद निकालेको छ । मतदान केन्द्र मायादेवी गाउँपालिकाको पकडीमा सार्नुपर्ने भन्दै विवाद उत्पन्न भएको थियो । क्षेत्र नम्बर १ मा देउवा पक्षबाट अब्दुल मन्नान र पौडेल पक्षबाट टेकबहादुर शाहीले सभापति पदमा उम्मेदवारी दिएका थिए । यो क्षेत्र दीपकुमार उपाध्याय र संघीय सांसद अतहर कमाल मुसलमानको प्रभाव रहेको क्षेत्रसमेत मानिन्छ । दुवै नेता संस्थापन पक्षमा खुल्दै आएका छन् ।
क्षेत्र नम्बर २ को अधिवेशन रोकिनुको कारण थाहा नभएको क्षेत्रीय सभापतिका उम्मेदवार तथा जिल्ला प्रवक्ता वीरेन्द्र मिश्रले बताए । मिश्रलाई सभापति पदका दुई आकांक्षीट गंगा विष्ट र माधव पराजुलीले समर्थन गरेपछि निर्वाचनमा कडा प्रतिस्पर्धा हुने आकलन गरिएको थियो । मिश्रले संस्थापन पक्षको तर्फबाट उम्मेदवारी दिएका छन् ।




