९ मंसिर काठमाडौ । काठमाण्डौसहित देशभरको वायु प्रदूषण फेरि बढेको छ । घाम लागेसँगै केही दिन वायु प्रदूषण घटेको भए पनि अहिले देशका धेरैजसो प्रदूषण मापन केन्द्रहरूले प्रदूषण बढेको देखाएका छन् ।
अहिले काठमाडौंको रत्नपार्कमा रहेको वायु प्रदूषण मापन केन्द्रको तथ्याङ्कअनुसार काठमाडौंमा हावाको प्रदूषण मापन सूचक एक्यूआई एक सय ६० नाघेको छ । एक्यूआई एक सय नाघेपछि त्यहाँ मानिसका लागि अस्वस्थ वातावरण भएको मानिन्छ ।
अहिले तराई क्षेत्रको प्रदूषण झनै बढेको छ । सिमरा र विराटनगरका केन्द्रहरूले एक्यूआई दुई सय नाघेको देखाइरहेका छन् । एक्यूआई दुई सय नाघ्नु अति जोखिमपूर्ण घातक अवस्था मानिन्छ ।
यति बेला काठमाडौं विश्वका प्रदूषित हावा भएको सहरहरूको सूचीमा चौथो नम्बरमा रहेको छ । सबैभन्दा धेरै प्रदूषित हावा भएको सहरमा भारतको केन्द्रीय राजधानी दिल्ली र दोस्रोमा पाकिस्तानको लाहोर र तेस्रोमा भारतकै कोलकत्ता शहर रहेको छन् ।
यी हुन् नेपालका रेड जोन सहर – नेपालमा वातावरण विभागले पनि वायु प्रदूषणको गुणस्तर मापन गर्छ । विभागले काठमाडौंसहित मुलुकका विभिन्न सहरमा राखेको वायु गुणस्तर मापन केन्द्रको तथ्याङ्कअनुसार प्रदूषण बढ्दै गएको छ । शनिबार बिहानको तथ्याङ्क अनुसार काठमाडौंसहित पाँच सहरको वायु प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ ।
पिएम २।५ को मात्रा प्रतिघण्टा हेर्दा पोखरामा १८४, विराटनगरमा १७६, काठमाडौंको रत्नपार्कमा १५१, कीर्तिपुरमा १५६, सिमरामा १५४ पुगेको छ । धनकुटा, धनगढी, महेन्द्रनगरमा पनि प्रदूषण बढिरहेको छ । ती सहरको वायु गुणस्तरको मात्रा राष्टिय मापदण्डभन्दा बढी रहे पनि रेड जोनमा परिसकेका छैनन् ।