
१९ मंसिर , काठमाडौ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आइतबारदेखि बाघ गणना गर्ने भएको छ । गणना चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट हुँदै छ । २०२१ भित्रै गणना गरिने भए पनि कार्यक्रमको नाम ‘राष्ट्रिय बाघ गणना २०२२’ दिइएको छ ।

गत चैतको गैंडा गणनामा खटिएका गणकलाई हात्तीलेआक्रमण गरेर घाइते बनाएकाले यस पटकको प्राविधिकको सुरक्षापाटोलाई विशेष ध्यान दिइने भएको छ ।

नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सबैभन्दा धेरै चितवनमा छन् । गणनाका लागि बाघ पाइने ५ वटा निकुञ्ज र बाहिरको क्षेत्र समेटेर तीनवटा कम्प्लेक्स बनाइएको छ । पहिलो चरणमा चितवन–पर्सा कम्प्लेक्सबाट गणना हुनेछ । विभागका महानिर्देशक डा। रामचन्द्र कँडेलका अनुसार क्यामेरा जडान गर्ने प्रयोजनका लागि प्राविधिक टोली बस्ने क्याम्प बनाउँदा नै सुरक्षापाटोलाई विशेष ख्याल गरिनेछ । ‘सकेसम्म असुरक्षित लागेको र भित्री भाग (कोर क्षेत्र) मा त्यस्तो क्याम्प खडा गरिने छैन,’ उनले भने, ‘गर्नैपर्ने अवस्था आयो भने सेनासँग सहकार्य गरिनेछ र पर्याप्त मात्रामा हात्ती प्रयोग गरिनेछ ।’
बाघको बासस्थल रहेको सबैजसो क्षेत्रमा जंगली हात्ती आउजाउ गर्छन् । कतिपय अवस्थामा गैंडाले समेत आक्रमण गर्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने हुन्छ । प्राविधिकले चितवन–पर्सा कम्प्लेक्समा भन्दा बढ्दा सुरक्षा चुनौती बर्दिया–बाँके कम्प्लेक्सलाई ठानेका छन् । यो कम्प्लेक्समा ८ सय १६ वटा ग्रिड छन् ।
नेपालमा यो गणनामा बाघको संख्या करिब दोब्बर अर्थात् २ सय ५० को हाराहारी पुग्ने अपेक्षा गरिएको छ, सन् २०१० ताका नेपालमा १ सय २१ बाघ थिए । पहिलो गणनामा सन् १९९५र९६ मा करिब सय, सन् २००९ मा १ सय २१, सन् २०१३ मा १ सय ९८ र सन् २०१८ मा २ सय ३५ बाघ थिए ।



