Comments Add Comment

Advertisment

SKIP THIS

कोरोना महामारीपछि रिसाहा बने विद्यार्थी

२० मंसिर, काठमाडौ । कोरोना महामारीका कारण बन्द भएका विद्यालय पुन सञ्चालनमा आएको करिब १ महिना भयो । देशभरका प्राय सबै विद्यालयहरूले दशैँतिहारपछि भौतिक रूपमा कक्षा सञ्चालन गरेका छन् ।

विद्यालय खुलेसँगै अधिकांश विद्यार्थीहरू खुसी भएका छन् भने केही विद्यार्थीहरूमा मनोवैज्ञानिक समस्या देखिएको शिक्षकहरू बताउन थालेका छन् ।

अहिले विद्यार्थीहरूमा रिसाउने, पढ्न नमान्ने, शिक्षकले दिएको गृहकार्य नगर्ने, अटेरी गर्ने, राम्रोसँग नखुल्ने जस्ता विभिन्न समस्या देखिएको पद्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतमले बताए ।

उनका अनुसार कोभिड–१९ सुरु हुनुभन्दा पहिला धरै विद्यार्थीमा यस्तो समस्या थिएन। उनले भने,‘नियमित विद्यालय सञ्चालन हुँदा राम्रा मानिएका विद्यार्थीहरूमा पनि अहिले झर्किने, अटेरी गर्ने लगायतका क्रियाकलापहरू गर्ने गरेको पाइएको छ ।’

लामो समय घरमा एक्लै बस्दा यस्तो समस्या आएको हुनसक्ने उनको अनुमान छ । उनका अनुसार तल्लो कक्षाका विद्यार्थीहरुभन्दा मावि तहका विद्यार्थीहरूमा यस्तो समस्या बढी देखिएको छ ।

उनले भने,‘ साना विद्यार्थीहरू विद्यालय आउन पाउँदा खुसी छन् तर कक्षा ८ भन्दा माथिका केही विद्यार्थीहरुको बानी भने केही फरक पाएका छौँ ।’ त्यस्तै त्रिपुरेश्वर स्थित विश्वनिकेतन माध्यमिक विद्यालय प्रधानाध्यापक हेरम्बराज कँडेलले पनि विद्यार्थीहरूमा झर्कने बानी बढेको पाइएको बताए । उनले भने,‘ विद्यार्थीहरूमा पढ्न नचाहने, झर्कने लगायतका समस्याहरू देखिएका छन् ।’

कमलपोखरी स्थित कमल आधारभूत विद्यालयका प्रधानाध्यापक मानबहादुर खड्काले पनि विद्यार्थीहरूमा यस्तो समस्या देखिएको बताए । उनका अनुसार विद्यार्थीको शैक्षिक स्तर पनि खस्किएको छ । विद्यार्थीहरूमा पढ्ने बानीमा परिवर्तन आएको छ ।

कालिामाटि बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जनले विद्यार्थीहरू रिसाउने झर्कने गरेको नपाए पनि विद्यार्थीहरुको शैक्षिक स्तर भने निकै खस्किएको बताए ।

उनका अनुसार कोरोना महामारी भन्दा पहिले राम्रो मानिएका विद्यार्थीहरुको पढाइ अहिले बिग्रिएको छ ।

उनले भने,‘ पहिले कक्षा ८ पास गरेर कक्षा ९ मा पढ्ने विद्यार्थी र कोरोनाको समयमा ८ कक्षा पास गरेर ९ मा पढ्न आउने विद्यार्थीहरुको शैक्षिक अवस्था निकै फरक भएको पाएका छौँ ।’

कोरोनाको नयाँ भेरियन्ट देखिएको हल्लाले विद्यार्थीहरूमा पुन विद्यालय बन्द हुन्छ कि भन्ने चिन्ता भने बढ्न थालेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment