
१९ पुष , काठमाडौ । “बाबु मेरो यो फाराम भरिदेऊ न १” ७३ वर्षीय बोधराज पाठकले नागरिकता र एउटा फाराम दिँदै आग्रह गर्नुभयो, “म बूढो मान्छे, अलि सञ्चो पनि छैन, फाराम भरेर फोचो खिचाएपछि घर गएर दबाइ खानुछ ।”
गैँडाकोट–४ का स्थायी बासिन्दा उहाँ पहिलोपटक फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि घुम्ती टोली आएको ठाउँ नगरपालिका कार्यालयमा पुग्नुभएको थियो ।
मुलुकमा गणतन्त्र आएपछि उहाँले मतदान गर्नुभएको छैन । “पहिला पहिला त भोट हालेँ तर ६४ सालपछि भोट हालेको छैन” उहाँले भन्नुभयो, “बिरामी भएर फोटो खिचाउन पाइँन, परिचयपत्र नबनेपछि भोट हाल्न नपाइने रैछ, त्यसैले मतदान अधिकारीबाट वञ्चित भएँ ।” आगामी निर्वाचनमा मतदान गरेर राम्रो उम्मेदवारलाई मतदान गर्ने जनाउँदै उहाँ मतदाता नामावलीमा नाम दर्ता गराउन आएको बताउनुहुन्छ । यसअघिका निर्वाचनमा आफ्ना छोरा, नातिले मताधिकार प्रयोग गरेको भए पनि आफूले भोट हाल्न नपाउँदा खल्लो लागेको भन्दै अबको निर्वाचनमा असल उम्मेदवार छान्ने गरी मताधिकार प्रयोग गर्ने उहाँ बताउनुहुन्छ ।
नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने अभियानअनुसार हाल जिल्लाका तीन स्थानीय तहमा घुम्ती टोली खटिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये बौदिकाली, हुप्सेकोट, बुलिङटार र विनयी त्रिवेणी गाउँपालिकामा नामावली सङ्कलनको काम सकिएको छ भने अहिले मध्यबिन्दु, देवचुली र गैँडाकोट नगरपालिकामा परिचयपत्रको फारम भर्ने अभियान जारी छ ।
जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयसँगै स्थानीय तहमा सञ्चालन भएको घुम्ती टोलीबाट मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि १६ वर्षीय युवादेखि ९९ वर्षीय ज्येष्ठ नगारिकसम्म पुगेका देखिन्छन् । मतदाता नामावलीमा नाम दर्ता गराउन आउनुभएका गैँडाकोट–१८ बसेनीका ५० वर्षीय हेमलाल आले मगरले यसअघि कहिल्यै पनि मतदान नगरेको बताउनुहुन्छ । “भोट हाल्ने बेलामा म सधैँ विदेशमा नै हुन्थेँ, अहिलेसम्म भोट हाल्न पाएको छैन”, मगरले भन्नुभयो, “मेरो छोराछोरी सबैले भोट हालेका छन्, तर मेरो नाम भोटर लिस्टमा नभएपछि अहिले नाम दर्ता गराउन आएको हो ।”








